भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा “अरुण बहुमुखी क्याम्पस” सञ्चालनमा आउने भएको छ। उक्त क्याम्पसलाई पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कला, कानुन र शिक्षा संकायबाट औपचारिक मान्यता प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
क्याम्पस सञ्चालनमा आएपछि भोजपुर जिल्लामा सञ्चालनमा रहेका क्याम्पसहरूको संख्या चार पुगेको छ। स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, समाजका बुद्धिजीवी र गाउँपालिकाको पहलमा वि.स २०७९ सालदेखि नै क्याम्पस स्थापना र सञ्चालनका तयारी हुँदै आएको थियो।
क्याम्पस सञ्चालनपूर्व आयोजित अभिमुखीकरण कार्यक्रममा विद्यार्थी, अभिभावक र सरोकारवालासँग शैक्षिक कार्यक्रम, सुविधा, छात्रवृत्ति र अवसरका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शालिग्राम खत्री, प्रमुख प्रशासकीय अधिकृत जितमा जिमी, वडा नं। ३ का अध्यक्ष कुमार कार्की, क्याम्पस प्रमुख हरि गौतमसहित शिक्षक, विद्यार्थी ,अभिभावक र पत्रकारहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष खत्रीले आफ्नै क्षेत्रका स्रोत र साधनलाई चिन्नु र उपयोग गर्न आवश्यक रहेको उल्लेख गर्दै छिमेकी गाउँपालिकाका विद्यार्थीहरूलाई समेत क्याम्पसमा भर्ना हुन आग्रह गर्नुभयो। टाढाबाट पढ्न आउने विद्यार्थीहरूको लागि अरुण प्रतिष्ठानसँग सहकार्य गरेर बसोबासको व्यवस्था मिलाइने पनि उहाँले जानकारी दिनुभयो।
गाउँपालिकाले क्याम्पस स्थापना र सञ्चालनमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसको विकास तथा समृद्धिका लागि साथ दिने प्रतिबद्धता अध्यक्ष खत्रीले व्यक्त गर्नुभयो।
क्याम्पसले पूर्वाञ्चल विश्वविद्यालयको नीति र नियमअनुसार पाठ्यक्रम सञ्चालन गर्ने भएकाले विद्यार्थीहरूले विश्वविद्यालयको मान्यता प्राप्त प्रमाणपत्र पाउनेछन्। साथै, क्याम्पसले विश्वविद्यालयको नीतिअनुसार १० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ।
हाल शिक्षा संकाय अन्तर्गत बि।एड। B=ED कार्यक्रम सञ्चालनका लागि मान्यता प्राप्त भइसकेको छ भने व्यवस्थापन संकाय अन्तर्गत बि।बि।एस। B=B=s कार्यक्रमको सम्बन्धन अन्तिम चरणमा पुगेको क्याम्पसले जनाएको छ। दुवै संकायका पढाइहरू बिहानी सत्रमा सञ्चालन हुनेछन्। साथै, पालिकाले प्राथमिकताका आधारमा विद्यार्थीहरूलाई केही अतिरिक्त छात्रवृत्ति पनि प्रदान गर्ने जनाएको छ।
क्याम्पस प्रमुख हरि गौतमका अनुसार अब स्थानीय विद्यार्थीहरूले आफ्नै गाउँमा बसेर स्नातक तहसम्म अध्ययन गर्न पाउने भएकाले बाहिर पढ्न जानुपर्ने आवश्यकता घट्नेछ। यसले गाउँमै गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत जितमा जिमीले पछिल्लो समय समाजमा अध्ययन गर्ने बानी घट्दै गएको भन्दै यस क्याम्पसले अब गाउँ घरका छोरी–बुहारीहरूलाई समेत स्नातक तहसम्म शिक्षा आर्जन गर्ने सुवर्ण अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई पालिकामा सञ्चालन हुने ए आई आई टी र मल्टिमिडिया सम्बन्धी कार्यक्रमहरूमा समेत सहभागी गराइने जानकारी दिनुभयो।


