दुहवी / सुनसरीको दुहवी नगरपालिकामा रहेको म्याजिक चप्पल उद्योगले औद्योगिक प्लास्टिकजन्य फोहोर वस्तुहरू मोरङको बुढीगंगा गाउँपालिका क्षेत्रमा पर्ने बुढी खोलामा लगेर फाल्ने गरेको तथ्य खुलेको छ।
स्थानीयवासीका अनुसार उक्त उद्योगबाट निस्किने प्लास्टिक, रबर र उद्योगमा प्रयोग हुने फोहोरहरू ढुवानी गरी खोलामा फालिँदै आएको छ। यसबाट बुढीगंगा क्षेत्रको वातावरणीय प्रदूषण, खोलानाला प्रदूषण र स्वास्थ्य जोखिम बढेको बताइएको छ।
दुहवी नगरपालिका र बुढीगंगा गाउँपालिकाको सहकार्यमा फोहोर डम्पिङ साइडको लागि स्थान छुट्याएर पालिकाहरूले फोहोर व्यवस्थापनका लागि छुट्टै स्थल तोकिसकेका भए पनि, त्यसको बेवास्ता गर्दै खोलामा फोहोर फालिएको भन्दै स्थानीय सरकार र सरोकारवालाहरूले कडा आपत्ति जनाएका छन्।
बुढीगंगा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलाराज मगरले यस्तो कार्य भएको हो भने पूर्ण रूपमा गैरकानुनी र गलत भएको बताउँदै भने, बुढीगंगा गाउँपालिका र दुहबी नगरपालिकाको समन्वयमा डम्पिङ साइट छुट्याइएको छ त्यही डम्पिङ गर्नुपर्नेमा “उद्योग–कलकारखानाबाट निस्किने फोहोर खोलामा फाल्नु वातावरणीय अपराध हो। यस्तो काम गर्नेले कानुनी कारबाही समेत भोग्नुपर्ने हुनसक्छ।”
स्थानीय बासिन्दाहरूले भने वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्यको दृष्टिले यस्तो कार्य तत्काल रोक्न माग गर्दै, नियम उल्लंघन गर्ने उद्योगहरूलाई कारबाही गर्न आग्रह गरेका छन्।


