बर्जु (सुनसरी) — बर्जु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम २०८२ औपचारिक रूपमा सुरु गरिएको छ।
कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष नितुकुमारी चौधरीले गर्नुभयो भने उद्घाटन सत्रको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महत,शिक्षा शाखा प्रमुख हेमराज दाहाल, निर्णायकमा प्राध्यापक रमेश पाण्डे सहित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूबीच वक्तृत्व कला, चित्रकला, हस्तलेखन, हाजिरी जवाफ, हिज्जे प्रतियोगिता तथा कविता वाचन जस्ता प्रतियोगिताहरू सञ्चालन हुनेछन्।

शिक्षा शाखा प्रमुख हेमराज दाहालले बालबालिकामा लुकेर रहेका क्षमताहरूलाई उजागर गर्न यस किसिमका कार्यक्रमहरू अत्यन्तै उपयोगी हुने बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यालयले बालबालिकाको बौद्धिक र सिर्जनात्मक क्षमता पहिचान गर्ने अवसर दिनु नै शिक्षा क्षेत्रको बलियो आधार हो।”
प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतले भने, “गाउँपालिकाले हरेक विद्यालयमा रहेका विद्यार्थीहरूको प्रतिभा पहिचान र विकासका लागि निरन्तर सहकार्य गर्नेछ।”

कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिकाकी उपाध्यक्ष नितुकुमारी चौधरीले भनिन्, “बालबालिकामा रहेको प्रतिभाको झिल्को उजागर गर्न यस्ता कार्यक्रमहरू अपरिहार्य छन्। शिक्षा क्षेत्रमा नयाँ सोच, नवीनता र सिर्जनशीलतालाई अघि बढाउने हाम्रो लक्ष्य हो।”

शिक्षा शाखाका अनुसार, बालबालिकाको अन्तर्निहित क्षमता पहिचान गरी उनीहरूको बौद्धिक दक्षता र व्यक्तित्व विकासका लागि यो कार्यक्रम वार्षिक स्वीकृत योजनाअन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रमका क्रममा सहभागी विद्यालयका प्रधानाध्यापक, संयोजक शिक्षक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। शाखाले कार्यक्रममा देखिएका बलिया पक्षका साथै प्राप्त सुझावहरूलाई आधार बनाई आगामी वर्ष अझ परिस्कृत ढंगले कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।


