भोजपुर | फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय भोजपुरले तयारी तीव्र बनाएको छ। सोही क्रममा आज बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले ८७ मतदानस्थल र १५५ मतदान केन्द्र यथावत् राख्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी तथा समिति संयोजक शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले गत निर्वाचनमा प्रयोग भएको संरचना नै आगामी उपनिर्वाचनका लागि उपयुक्त ठहर गर्दै सिफारिस अघि बढाउने निर्णय गरेको छ।

तिवारीले मतदानस्थल तथा केन्द्रमा हाल कुनै समस्या नदेखिएको बताउँदै, “विशेष अवस्था उत्पन्न भएमा पुनः बैठक बसेर आवश्यक समायोजन गर्नेछौँ,” भने। उनले निर्वाचन आयोगलाई सिफारिस पठाउने तयारी पूरा हुँदै गरेको जानकारी पनि दिए।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीका अनुसार मतदाता नामावली सङ्कलन कार्य आजदेखि सकिएको छ। अब आगामी मङ्सिर २० गतेदेखि ३० गतेसम्म नामावली संशोधन, दाबी–विरोधका प्रक्रिया सञ्चालन हुनेछ।

जिल्ला प्रशासन कार्यालयमा बसेको आजको बैठकमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पत्रकारलगायत सरोकारवाला पक्षहरूको सहभागिता थियो।FB_IMG_1763740675799

भोजपुरमा प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको छ। निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक सक्रियता पनि बढ्दै गएको देखिन्छ।