सुनसरी | बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकासपुर स्वास्थ्य चौकीमा क्षयरोगका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायलाई लक्षित गर्दै डिजिटल एक्स–रे मेसिनमार्फत छाती परीक्षण (Digital X-Ray with AI Screening Camp) सहितको सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम सम्पन्न गरिएको छ।

यस स्वास्थ्य शिविरबाट स्थानीय स्तरमा उल्लेखनीय संख्यामा नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिविरमा नवीनतम प्रविधिसहितको एक्स–रे परीक्षणबाट प्रारम्भिक चरणमै क्षयरोग पत्ता लगाउन मद्दत पुर्‍याएको स्वास्थ्य शाखाले जनाएको छ।

कार्यक्रम बराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा तथा बागमती सेवा समाज, सुनसरीको सहकार्यमा सम्पन्न भएको हो। सक्रिय क्षयरोग खोजपड्तालका यस्ता शिविरहरू बराहक्षेत्र नगरपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाहरूमा निरन्तर सञ्चालन भइरहेकै छन्।IMG-20251124-WA0012

शिविरमा बराहक्षेत्र–१० का वडाध्यक्ष तेज बहादुर गुरुङ, अन्य स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्य सेवाका लाभग्राहीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।