भोजपुर | पर्याप्त जनशक्ति अभावका कारण भोजपुर अस्पतालमा रहेको विभिन्न अत्याधुनिक उपकरण प्रयोगमा आउन नसकेको जनाइएको छ। सदरमुकाम स्थित जिल्लाको एक मात्र सरकारी अस्पतालमा संघीय सरकारको करिब दुई करोड रुपैयाँ लागतमा सघन उपचार कक्ष (आइसियू) निर्माण गरिए पनि अझै सञ्चालनमा आउन सकेको छैन।

अस्पतालका प्रमुख डा. पवित्रा श्रेष्ठका अनुसार पाँच वर्षअघि नै आइसियू कक्ष तयार भए पनि आवश्यक जनशक्ति अभावका कारण सेवा सुरू गर्न नसकिएको हो। उहाँले भनिन्, “पाँच वर्ष अगाडि नै आइसियू तयार भए पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन, करारमै पनि कर्मचारी राख्न नसकिएको अवस्था छ।”

नागरिक समाजका संयोजक पर्शुराम तिवारीले दुर्गम क्षेत्रका अस्पतालमा सरकारले जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्थानीय नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन बाध्य भएको बताउनुभयो। “प्रविधि र संरचना तयार भए पनि जनशक्ति नहुँदा सेवा प्रभावित हुनु दुःखद छ। भोजपुर अस्पतालको समस्या त्यसैको उदाहरण हो,” उहाँले भन्नुभयो।

भौतिक सुविधाका रूपमा जिल्लाका स्वास्थ्य संस्थाहरू विस्तार हुँदै गए पनि आवश्यक विशेषज्ञ तथा तालिमप्राप्त जनशक्ति अभावका कारण बिरामीहरू अझै पनि उपचारका लागि धरान, विराटनगर, काठमाडौँ जस्ता ठूला शहरका अस्पताल धाउन बाध्य छन्।