भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा स्थापना गरिएको अरुण बहुमुखी क्याम्पसमा औपचारिक रूपमा पढाइ सुरु भएको छ। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत शिक्षा संकायको बि.एड. (B.Ed.) कार्यक्रमलाई आवश्यक मान्यता प्राप्त भइसकेको र व्यवस्थापन संकायको बि.बि.एस. (B.B.S.) कार्यक्रमको सम्बन्धनसमेत अन्तिम चरणमा पुगेको क्याम्पसले जनाएको छ।

क्याम्पस सञ्चालित भएपछि हालसम्म भोजपुरमा रहेका क्याम्पसहरूको संख्या चार पुगेको छ। स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी र पालिकाको सक्रिय पहलमा वि.सं. २०७९ सालदेखि सुरु गरिएको क्याम्पस स्थापना अभियान अब अध्यापन सुरु भएपछि व्यवहारिक रूपमा लागू भएको हो।

पढाइ मङ्सिर ११ गतेदेखि सञ्चालन

क्याम्पस प्रशासनका अनुसार बि.एड. र बि.बि.एस. दुवै कार्यक्रमको कक्षा मङ्सिर ११ गते बिहान ६ बजेदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ। भर्ना प्रक्रिया अझै खुला रहेकाले इच्छुक विद्यार्थीले भर्ना भएर कक्षामा सहभागी हुन पाउनेछन्।

अभिमुखीकरणमा सुविधाबारे विस्तृत जानकारी

क्याम्पस सञ्चालनपूर्व आयोजित अभिमुखीकरण कार्यक्रममा शैक्षिक कार्यक्रम, अध्ययन–सुविधा, छात्रवृत्ति व्यवस्था र भविष्यका अवसरबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिग्राम खत्री, प्रमुख प्रशासकीय अधिकृत जितमा जिमी, वडा नं. ३ का अध्यक्ष कुमार कार्की, क्याम्पस प्रमुख हरि गौतम सहित शिक्षक, अभिभावक, विद्यार्थी र पत्रकारहरूको उपस्थिति थियो।

स्थानीयस्तरमै स्नातक अध्ययनको सुविधा

क्याम्पस प्रमुख हरि गौतमका अनुसार अब स्थानीय विद्यार्थीहरूले गाउँमै बसेर स्नातक तहसम्म पढ्न पाउने भएकाले बाहिर जानुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ। गाउँमै गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार हुनु पालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताइएको छ।1764264248661

छात्रवृत्ति र बसोबासको व्यवस्था

पूर्वाञ्चल विश्वविद्यालयको नीतिअनुसार क्याम्पसले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनेछ। साथै, टाढाबाट पढ्न आउने विद्यार्थीका लागि अरुण प्रतिष्ठानसँग सहकार्य गरी बसोबासको व्यवस्था मिलाइने अध्यक्ष खत्रीले जानकारी दिनुभयो। पालिकाले प्राथमिकताका आधारमा केही अतिरिक्त छात्रवृत्तिसमेत दिने उल्लेख गरिएको छ।

महिलामैत्री उच्च शिक्षा कार्यक्रम

प्रमुख प्रशासकीय अधिकृत जितमा जिमीका अनुसार पछिल्लो समय अध्ययनप्रति ध्यान घट्दै जाँदा यो क्याम्पसले विशेषगरी गाउँघरका छोरी–बुहारीहरूलाई नै स्नातक तहसम्म अध्ययन गर्न सहज वातावरण बनाइदिनेछ। साथै विद्यार्थीलाई पालिकामा सञ्चालन हुने एआई, आईटी तथा मल्टिमिडिया सम्बन्धी तालिमहरूमा समेत सहभागी गराइनेछ।1764264245469