इटहरी । रोटर्याक्ट स्व. सचिन श्रेष्ठको १२औं स्मृति दिवसको अवसर पारेर देशभर सञ्चालन हुँदै आएका रक्तदान कार्यक्रम अन्तर्गत इटहरीमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रोटरी र रोट्र्याक क्लब अफ इटहरीको संयुक्त आयोजना तथा रोटरी क्लब अफ युगल र रोट्रयाकट क्लब अफ सुनसरीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

IMG_20251129_094304

इटहरी–विराटनगर लाइनस्थित राधाकृष्ण मन्दिर अगाडि आयोजित कार्यक्रममा रोटरी क्लब अफ इटहरीका अध्यक्ष डिसी चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।

रक्तदान कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता, विद्यार्थी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिबीच  ५९ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए। मानव सेवा र देशभर देखा पर्ने रक्त अभावलाई कम गर्ने उद्देश्यसहित वार्षिक कार्यक्रम क्यालेन्डरअनुसार देशैभर रोटर्याक्ट क्लबका सदस्य स्व. सचिन श्रेष्ठको सम्झनामा रक्तदान अभियान सञ्चालन गरिएको रोटर्याक्ट इटहरीका अध्यक्ष शीतल धितालले जानकारी दिए।

IMG_20251129_093509

प्रमुख अतिथि वडा अध्यक्ष थापाले रक्तदानलाई महान मानवीय सेवा भन्दै युवाहरूको सामाजिक उत्तरदायित्वप्रतिको लगाव प्रशंसनीय रहेको टिप्पणी गरे। उनले यस्ता सकारात्मक गतिविधिहरूले समुदायमा मानवता र सहयोगको सन्देश फैलाउने भएकाले निरन्तरता आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा रोटरी क्लब अफ इटहरीका पूर्व अध्यक्ष लक्ष्मी थेबे, अनन्त बिष्ट, अनिता कट्टेल, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।