इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको हो ।फागुन २१ को निर्वाचन सम्पन्न गर्न सुरक्षाका हिसाबले अपनाउनुपर्ने रणनीतिका विषयमा तीनै जिल्लाका सुरक्षा अधिकारीबीच छलफल भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले बताउनुभयो । छलफलमा ताप्लेजुङबाट प्रमुख जिल्ला अधिकारीसहित सेनानी उमेश खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठक, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय, प्रहरी निरीक्षक जटाशङ्कर यादव र सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काको सहभागिता रहेको थियो ।
यस्तै तेह्रथुमबाट प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, सेनानी कृष्ण तिवारी, प्रहरी नायब उपरीक्षक लीलाराज लामिछाने, सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज विष्ट, प्रमुख अनुसन्धान अधिकृत डिल्लीराम भट्टराई र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बू सहभागी हुनुभएको थियो । सङ्खुवासभाबाट प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, सेनानी नवराज बस्नेत, प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, प्रमुख अनुसन्धान अधिकृत रामअचल शाह र सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको सहभागिता रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताउनुभयो । गुफापोखरी चीनसँग सिमाना जोडिएका ताप्लेजुङ र सङ्खुवासभा र तेह्रथुमको सङ्गम स्थल हो ।

