इटहरी । मोरङको जिल्ला कारागारमा अर्का थुनुवाको मृत्यु भएको छ। लागूऔषध मुद्दामा थुनामा रहेका उर्लाबारी–१ का ३७ वर्षीय टंकबहादुर दर्जीको शनिबार दिउँसो कोशी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। शरीर सुन्निने र सास फेर्न कठिन भएको उनीलाई मंसिर ७ गते आईसीयूमा भर्ना गरिएको थियो। साउन ३० देखि पुर्पक्षका लागि कारागारमा राखिएका दर्जीको मुद्दा अझै विचाराधीन थियो। यससँगै वैशाखयता मोरङ कारागारमा मृत्यु हुने कैदी–थुनुवाको संख्या १४ पुगेको छ। दुई दिनअघिमात्रै तेजबहादुर राई र हर्कजंग लिम्बूको पनि उपचारका क्रममा मृत्यु भएको थियो। कारागारमा कैदी–थुनुवामध्ये शरीर सुन्निने, सास फेर्न गाह्रो हुने र छाती दुख्ने समस्या तीव्र बिराजमान भएको कारागार प्रशासनले जनाएको छ।

