✍️विश्व प्रकाश शर्मा

नेपाली कांग्रेस युवा नेता(झापा)

 नेपाली कांग्रेस आगामी महाधिवेशनको तयारीतर्फ अघि बढिरहेका बेला पार्टीभित्र असन्तुष्टिको स्वर अभूतपूर्व रूपमा उठ्न थालेको छ। लगातार तीनपटकभन्दा धेरै महाधिवेशन वा क्षेत्रीय प्रतिनिधित्व सम्हालेका नेताहरूलाई यसपटक अघि सर्नुभन्दा, अब अभिभावकको भूमिकामा बसेर नयाँ पुस्तालाई मार्ग खोलिदिनुपर्ने माग तीव्र रूपमा सतहमा आउन थालेको छ।

जिल्लादेखि वडासम्मका कार्यकर्ताहरूले यही कुरा जोडका साथ भनिरहेका छन्—अब कांग्रेसको भित्री राजनीति परिवर्तन नहुने हो भने पुरानै अनुहारहरूको पुनरावृत्ति सह्य हुने छैन। यही कारण पछिल्ला केही दिनयता कार्यकर्ताहरूको एक स्वरमा उठेको अभियान “NO NOT AGAIN” पार्टीभित्र ठूलो चेतावनीको रूपमा ह्वात्तै फैलिएको छ।

युवा पुस्ता, विशेषगरी राजनीतिक चेतनासँग जोडिएको जेन–जेड समूह, अहिले कांग्रेसलाई समयअनुसार रूपान्तरण गर्न नसके यसको भविष्य बोक्ने शक्ति कमजोर बन्ने ठोकुवा गर्दै आएको छ। उनीहरूको बुझाइमा देशको राजनीतिक दिशा अब पुरानै शैलीका नेतृत्वले नहीं, नयाँ सोच, नयाँ ऊर्जासँग जोडिएको पुस्ताले नै कोर्न सक्छ। यही कारण उनीहरूले वडादेखि केन्द्रसम्म पुराना संरचना भत्काएर नयाँ नेतृत्व अघि ल्याउनुपर्ने माग एकदमै खुलेर राखिरहेका छन्।

स्थानीय कार्यकर्ताहरूले यसपटक अत्यन्त कडा चेतावनी दिएका छन्। परिवर्तन रोक्नेप्रयास भयो भने महाधिवेशनमै होइन, वडास्तरमै पुराना अनुहारलाई फिर्ता पठाउन बाध्य हुने संकेत दिइरहेका छन्। कांग्रेसको आन्तरिक असन्तुलन र राजनीतिक दिशाहीनता अब दिगो रूपमा सह्य नहुने उनीहरूको ठहर छ।

यतिबेला कांग्रेसको सबैभन्दा ठूलो चिन्ता यही बनेको छ—पार्टीले नयाँ पुस्ताको आकांक्षा बुझेर सुधारको बाटो रोज्छ कि फेरि पुरानै गणितमै अडिन खोज्छ? यही प्रश्न आज अहिले देशभरका कांग्रेस समर्थक र आम मतदाताको मनमा गहिरो रूपमा गुञ्जिरहेको छ।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसका लागि यो क्षण केवल नेतृत्व परिवर्तनको औपचारिक समय होइन। यो पार्टीको अस्तित्वसँगै प्रत्यक्ष रूपमा जोडिएको निर्णायक मोड हो। अब पनि कांग्रेसले आफूभित्रका पुराना समस्यालाई नछिचोल्ने हो भने पार्टी इतिहासमै बिलाउने जोखिम बढ्दै गएको विश्लेषकहरूको धारणा छ।

यही कारण, सबैको ध्यान अहिले एउटै प्रश्नमा अडिएको छ—यसपटक कांग्रेसले साँच्चिकै रूपान्तरणको बाटो समात्छ कि फेरि आफ्नै गल्ती दोहोराएर पतनतिर अग्रसर हुन्छ?