सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज गाईघाट युनाइटेड र जलथल फुटबल क्लब झापाबीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना हुनुहुन्थ्यो । खेलको २८ औँ मिनेटमा जलथल फुटबल क्लबका जर्सी नम्बर २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसको एक मिनेटमै गाईघाटका जर्सी नम्बर १३ विनोद राईले १ गोल गरि, बराबरी बनाए ।
निर्धारित समय भर खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट गाईघाट युनाइटेड उदयपुर विजयी बन्यो र सेमिफाइनलमा प्रवेश गरेको छ ।
आजको ‘म्यान अफ द म्याच’ गाईघाट युनाइटेड फुटबल क्लबका गोल रक्षक रेम्बो चौधरी घोषित भएका छन् । उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
पहिलो खेलमा सहलेश युवा क्लब सिराहा र दोस्रो खेलमा आयोजक गछिया युवा समाज सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको चौथो खेल भोलि दिउँसो ३ बजे राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लबबीच हुने खेल संयोजक प्रलाद थोप्रा लिम्बुले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै, सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान र शारीरिक अपांगता भएका २ नागरिकलाई व्हिलचेयर प्रदान गरिनेछ । दीर्घकालीन योगदान दिएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले बताउनु भयो । प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ । गोल्डकपमा कुल ८ टोली सहभागी छन् ।



