इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको छ । नगर अस्पतालले सुरु गरेको बिशेषज्ञ सहितको दन्त सेवाको अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गर्र्नुुभएको  हो । शुक्रवार भएको दन्त सेवाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ६ का अध्यक्ष उद्बव प्रसाद पोखरेल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पताल सञ्चालन समितिका सदस्य अनु गुरुङ्ग , रत्न बहादुर राउत , नगर स्वास्थ्य शाखाका प्रमुख दन्त रोग बिशेषज्ञ डाक्टर धनराज यादव , महेन्द्रनगर स्वास्थ्य केन्द्रका प्रमुख पृश्बी चन्द्र भगत नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्ट, अस्पतालका चिकित्सकहरु, कर्मचारीहरुको उपस्तिथि रहेको थियो । नगरवासिहरुले दन्त सेवाको माग गरेको र आवश्यक्ता बमोजिम आधाुनिक उपकरणको व्यवस्थापन गरि नगर अस्पतालवाट विशेषज्ञ सहित दन्त सेवा सुरु गरिएको नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले बताउनुभयो । नगरवासिको स्वास्थ्य सम्बन्धी आधारभुत आवश्यक्तालाई पूरा गर्न नगर अस्पतालले सेवा बिस्तार गर्न योजना बनाएर र सोही अनुसार बिशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको उहाँले बताउनुभयो । नगर अस्पतालबाट अप्रेसन सहितको आखा उपचार केन्द्र, आधुनिक आकस्मिक कक्ष, नया भवन , आधुनिक भिडियो एक्सरेको खरिद गरि सेवालाई थप ब्यवस्थित र बिस्तार गर्दै आएको नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले बताउनुभयो । अस्पतालको आन्तरिक स्रोतबाट ९ लाखबाट आधुनिक उपकरण खरिद गरि बिशेषज्ञ सहितको दन्त सेवा बिस्तार गरिएको  नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्टले जानकारी दिनुभयो । उक्त सेवा शनिवार र सार्बजनिक विदाको दिन बाहेक बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । हाल दैनिक अस्पतालमा २ सय ७५ देखि ३ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ । २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, फिजोयोथेरापी सेवा,  आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स–रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भई राखेको र  हाल विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित व्यवस्थापक दिवस बिष्टले बताउनुभयो ।