सुनसरी । सुनसरीको बराहक्षेत्रमा सुरु भएको जिल्लास्तरीय दोस्रो ‘प्याब्सन–एन्फा प्रेसिडेन्ट कप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चिल्ड्रेन हार्ड बराहक्षेत्रले विजयी सुरुवात गरेको छ।
बराहक्षेत्र–५ मा रहेको जनता डेडराज माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा चिल्ड्रेन हार्डले बराहक्षेत्रकै जय सप्तकोशी बोर्डिङ स्कुललाई ट्राइबेकरमा ६–५ ले पराजित गरेको हो। निर्धारित समय तथा अतिरिक्त समयसम्म दुवै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमार्फत् टुंगिएको थियो।
प्रतियोगिताको पहिलो चरण मंसिर २७ गतेसम्म चल्नेछ। यस चरणमा बराहक्षेत्रका १६ र धरानका १८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणका विजेताहरू दोस्रो चरणमा प्रवेश गर्ने जानकारी प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले दिएका छन्।
दोस्रो चरणको खेल पुस १ गतेदेखि धरानमा सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा अगाडि बढाउन जिल्लास्तरीय प्रतिस्पर्धाले महत्त्वपूर्ण भूमिका खेलेको बताए। कार्यक्रममा अन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी आशाराम चौधरीसहित अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।


