सुन्दरहरैंचा / बेलबारी नगरपालिका –९ स्थित दीप ज्योति आधारभूत विद्यालयमा राहत तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। पछिल्लो समय जेनजी आन्दोलनमा सहिद बनेका स्व. श्रेयम चौलागाईको सम्झनामा आयोजित उक्त कार्यक्रमलाई उनका पिता गणेश प्रसाद चौलागाईले सम्भव बनाए।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्व महासेनानी माधव सुन्दर खड्काले विद्यार्थीहरूको शिक्षामा अभिभावक तथा समुदायको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्ता अभियानले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि अलीजा गौतमले स्व. श्रेयम चौलागाईको बलिदान र परिवारको योगदानप्रति सम्मान व्यक्त गर्दै बालबालिकाले राम्रो शिक्षा प्राप्त गर्न यस प्रकारका सहयोगले ठूलो ऊर्जा मिल्ने बताइन्।
समुदाय, विद्यालय र अभिभावकको साझा प्रयासमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको विद्यालयले जनाएको छ।


