इटहरी | द शान्तिनगर युथ क्लबको आयोजनामा दोस्रो वडा स्तरीय स्नुकर च्याम्पियनसिप प्रतियोगिता इटहरी उपमहानगरपालिका–२ मा सुरु गरिएको छ। क्लबका अध्यक्ष राजन राईको अध्यक्षता तथा वडा नम्बर २ का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो।
क्लबका अनुसार प्रतियोगितामा ३२ जना खेलाडी सहभागी छन्। विजेताले २० हजार रुपैयाँ तथा दोस्रो हुने खेलाडीले १२ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। स्नुकर खेलप्रति युवाहरूको आकर्षण बढ्दै गएपछि खेलाडीसँगै प्रतिभालाई अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका उपाध्यक्ष राजेश राईले बताए।
उद्घाटन कार्यक्रममा तालतलैया व्यवस्थापन समितिकी उपाध्यक्ष धन माया श्रेष्ठ, समाजसेवी सुरज राई, त्रिभुवन युवा संघका कोषाध्यक्ष निमा तामाङ, स्थानीय समाजसेवी तथा खेलकुदप्रेमीहरूको उपस्थिती रहेको थियो। प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते शनिबारका दिन हुनेछ।


