इटहरी | यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले नागरिकता प्राप्तिका लागि समेत राज्यबाटै दरव्यवहारको शिकार बन्दै झन्झटिलो प्रक्रियाबाट गुज्रीनुपरेको बताएका छन् ।
सुनसरीको इटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मुद्दालाई समाजमा सही रूपमा प्रस्तुत गर्न पत्रकारहरूको भूमिकाका विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा राज्यबाटै अमानविय व्यवहारको शिकार हुनुपरेको दुःखेसो पोखेका छन् । नेपालको संविधान धारा १२ मा लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने व्यवस्था गरिएकोमा विषमलिङ्गिले झैँ सहज रुपमा नागरिकता समेत पाउन नसकेको उनिहरुको भनाइ छ । कार्यक्रममा क्वयर अधिकारकर्मी एवं निल हिरा समाजका कार्यक्रम संयोजक टिकाराम भुषालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका पारलैंगिक व्यक्तिहरुले नागरिकता प्राप्तिका लागि नाङ्गिएर पहिचानको पुष्टि गराउनुपर्ने तथा तीन वर्षसम्म प्रशासनमा धाउनुपर्ने अवस्था रहेको बताउनुभयो । लिङ्गको महलमा अन्य लेख्नको लागि लाखौँ रकम खर्च गरेर शरिरको अङ्ग शल्यक्रिया गर्नुपर्ने बाध्यात्मक व्यवस्था राखेर सरकारले क्वयर समुदायलाई गैरनागरिक बनाउने काम गरेको बताउनुभयो । लैङ्गिक मैत्री वातावरण नहुँदा क्वयर समुदाय रोजगारीबाट वञ्चित बन्नुपरेको र त्यसको प्रतिफलका रुपमा यौन श्रममा लाग्नुपर्दा समाजले थप घृणा र हेयको दृष्टिले हेरेको तथा समाजले विभेदलाई थप प्रश्रय दिएको उहाँले बताउनुभयो ।
क्वयर समुदायलाई शौचालयदेखि स्वास्थ्य, शिक्षालगायतका आधारभूत सेवा प्राप्तिमा समेत कठिनाइ, मानसिक हिंसा र विभेद सहनुपरेको भुषालले जानकारी दिनुभयो । त्यस्तै, मानव कल्याण समाजका कार्यक्रम संयोजक देवनारायण चौधरीले अल्पसंख्यक समुदायप्रति समाजमा विद्यमान लालछना, विभेद र गलत धारणाको अन्त्य गर्न पत्रकारहरूको सहयोग अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा यौनिक र लैङ्गिक विविधता मानव समाजको स्वाभाविक विशेषता भएको उल्लेख गर्दै पहिचानको सम्मान, समावेशी नीति र मानवीय व्यवहार नै सहअस्तित्वको आधार भएको निष्कर्ष प्रस्तुत गरिएको थियो ।


