धरान–१६ स्थित सिटी चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा केन्द्र धरानमा फलफूल वितरण गर्दै मानव सेवामा आफ्नो सक्रिय उपस्थिति जनाएको छ। मन्टेश्वरीमा अध्ययनरत नानिबाबुहरूलाई ‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने शिक्षा व्यवहारिक रूपमा सिकाउनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको मन्टेश्वरीकी निर्देशक ओमु राईले जानकारी दिनुभयो।
राईका अनुसार, बालबालिकालाई पुस्तकमै सीमित नराखी वास्तविक जीवनमा मानवीयताको मूल्य बुझेका नागरिक बनाउन मन्टेश्वरीले वर्षेनि यस्ता सामाजिक क्रियाकलापहरू गर्दै आएको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले आफैँले तयारी गरेका फलफूलका प्याकेटहरू मानव सेवा आश्रममा बसी रहेका ज्येष्ठ नागरिकहरूलाई हस्तान्तरण गरेका थिए।

धरान–१६ मा अवस्थित मानव सेवा आश्रममा अहिले २७ जना वृद्ध बसोबास गरिरहेका छन्। मंसिर २६ गते मन्टेश्वरीका तर्फबाट उनीहरूको बिहानको खाना खुवाइइनुका साथै पोषक फलफूल वितरण गरिएको आश्रमका जिल्ला संयोजक निर्मला दर्लामीले बताइन्। उनका अनुसार आश्रमले हाल पुरुष ज्येष्ठ नागरिकहरूलाई मात्र सेवा दिइरहेको भए पनि आमाहरूका लागि छुट्टै भवन निर्माणको तयारी तीव्र गतिमा भइरहेको छ।

आश्रम व्यवस्थापनले समुदायबाट पाइँदै आएको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि स्थानीय संस्था, विद्यालय तथा युवा समूहसँग मिलेर ज्येष्ठ नागरिकहरूको सेवा तथा हेरचाहमा थप कार्यक्रम अघि बढाउने जनाइएको छ।


