इटहरी । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीको जनता बहुमुखी क्याम्पसमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबार आयोजक समितिले पत्रकार सम्मेलन गर्दै जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो। शैक्षिक सम्मेलनमा चार देशका विज्ञसहित नेपालका नाम चलेका शैक्षिक विज्ञद्दारा ११२ वटा कार्यपत्र प्रस्तुत गरिने सम्मेलन संयोजक तथा सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद प्याकुरेलले बताउनुभयो । सम्मेलनमा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चारवटा फिचर्ड स्पिच, एउटा समूह छलफल र एउटा कविता प्रस्तुती रहने, अन्तरक्र्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र ८४ वटा कन्करेन्ट सेसन सञ्चालन हुने उहाँले बताउनुभयो । कार्यक्रममा मुख्य नोट स्पिकरको रुपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइ एनए एसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की, कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज न्यूयोर्क अमेरिकाका डाक्टर प्रेम फ्याक र बाबा मस्तनाथ विश्वविद्यालय भारतका पूर्वउपकुलपति प्रोफेसर एचएल वर्मा सहभागि हुने तय भएको छ । कार्यक्रममा पाँच जना विदेशी विज्ञसहित नेपालका नाम चलेका अन्य १२ जना गरि १६ ना प्लेनरी स्पिकरको रुपमा रहेका छन् । शैक्षिक विज्ञ र अनुसन्धानकर्ताबिच अन्तर विषय संवाद र सहयोगलाई गति लिदै समसामयिक विश्वका चुनौती सामाना गर्न, समय सापेक्ष शिक्षालाई परिवर्तन र परिस्कृत गरेर लैजान नवीन शैक्षिक नमूनाका लागि संरचनात्मक अध्ययन गर्नुपर्छ भन्ने सोचले कार्यक्रम गर्न लागिएको सञ्चालक समिति अध्यक्ष बिकास केसीले बताउनुभयो । सम्मेलनका लागि ३५ लाख खर्च लाग्नेछ । यसक्रममा सहभागीबाट रजिष्ट्रेसन शुल्क बापत प्रतिव्यक्ति दुई हजार पाँच सय लिने निर्णय भएको छ । यस्तै, विभिन्न दाताबाट सहयोग प्राप्त हुने र इटहरी उपमहानगरपालिकाले सात लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।


