सुनसरी / फेयरमेड फाउन्डेसन नेपालको आयोजनामा छुटेका समुदाय पहिचानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुनसरी — फेयरमेड फाउन्डेसन नेपालद्वारा छुटेका तथा पिछडिएका समुदायको पहिचान गर्ने उद्देश्यसहित टोल–बस्ती स्तरसम्म पुगेर लक्षित वर्गको स्वास्थ्य अवस्था सुधार गर्ने परियोजनाअन्तर्गत अभिमुखीकरण कार्यक्रम फेयरमेड फाउन्डेसन नेपालका टिम लिडर शशि शर्माको अध्यक्षता तथा रामधुनी नगरपालिका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा उपेक्षित तथा उष्णपरदेशीय रोगहरू विशेषगरी कुष्ठरोग, रेबिज, डेङ्गु सर्पदंश र हात्तीपाइले रोगको रोकथाम तथा न्यूनीकरणका लागि गरिने पहल, समुदाय पहिचानको प्रक्रिया र परियोजनाको भूमिकाबारे रामधुनी नगरपालिका उपप्रमुख तारा थापा सहित वडाध्यक्षहरू, स्वास्थ्य इन्चार्ज तथा सरोकारवालाहरूसँग छलफल गरिएको थियो।

सुनसरी जिल्लामा सेभ द अर्थ संस्थाको सहकार्यमा परियोजना सञ्चालन भइरहेको जानकारी दिँदै सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुगेर स्वास्थ्य सेवामा पहुँच विस्तार गरिने बताउनुभयो।

परियोजना हाल कार्यान्वयनको चरणमा रहेको र यसले पालिकामा रहेका लक्षित वर्गको स्वास्थ्य अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा नगरप्रमुख शंकरलाल चौधरीले यस्ता कार्यक्रमहरूले लक्षित समुदायको स्वास्थ्य मात्र नभई समग्र जीवनस्तर उकास्न विशेष सहयोग पुग्ने बताउनुभयो।