इटहरी । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो । त्यसैगरी जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ ।साइनसमा सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्थासमेत आउन सक्ने चिकित्सकको भनाइ छ ।
यसैगरी माइग्रेनका बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन् । तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी तथा मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरू बताउछन् । चिकित्सकका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’को कमी हुने र यसले मांसपेशी दुखाइ, थकान तथा टाउको दुखाइलाई थप बढाउने गर्दछ । उच्च रक्तचाप भएका व्यक्ति, दीर्घरोगी, वृद्धवृद्धा तथा लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्नेहरू जाडो मौसममा टाउको दुखाइको उच्च जोखिममा पर्ने समूहमा पर्छन् । टाउको दुखाइबाट बच्न चिकित्सकहरूले पर्याप्त पानी पिउने, न्यानो कपडा लगाएर घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने तथा घाँटी र काँधको हल्का व्यायाम गर्ने सुझाव दिएका छन् । जाडो मौसममा सानो लापरबाहीले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले दैनिक जीवनशैलीमा सचेतता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।


