इटहरी | नेपाल सरकारका पूर्व वरिष्ठ सचिव तथा बेलायत (युनाइटेड किङ्डम) का लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेसँग कस्तुरी कलेजका विद्यार्थीहरूबीच विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकारको उच्च प्रशासनिक पद सचिवमा रही लामो समय सेवा गरेका राजदूत घिमिरेले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका महत्वपूर्ण निकायहरूमा सचिवका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। पछिल्लो समय उद्यमशीलता, निजी क्षेत्र प्रवर्द्धन तथा आर्थिक विकासका क्षेत्रमा समेत उनको योगदान उल्लेखनीय रहँदै आएको छ। उनी २०८१ साल (जनवरी २०२५) देखि बेलायतका लागि नेपालका २३औँ प्रमुख राजदूतको रूपमा कार्यरत छन्।

“A Talk with Chandra Kumar Ghimire” शीर्षकमा आयोजित उक्त कार्यक्रम कलेजका प्रिन्सिपल कमलेश पौडेलले सहजीकरण गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले कूटनीति, सार्वजनिक प्रशासन, नेतृत्व विकास, नीति निर्माण प्रक्रिया तथा उद्यमशीलतासम्बन्धी विविध जिज्ञासाहरू राखेका थिए।

अन्तरक्रियाका क्रममा राजदूत घिमिरेले आफ्नो लामो प्रशासनिक अनुभव, अन्तर्राष्ट्रिय कूटनीतिक यात्रामा भोगेका चुनौती र अवसरहरू, साथै युवाहरूले देश निर्माणमा खेल्न सक्ने भूमिकाबारे प्रेरणादायी विचार व्यक्त गरे। उनले सीप, अनुशासन, इमानदारी र दीर्घकालीन सोच विकास गर्न सकेमा युवाहरू सार्वजनिक सेवा, कूटनीति तथा निजी क्षेत्र सबै क्षेत्रमा सफल हुन सक्ने उल्लेख गरे।

यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले विद्यार्थीहरूको आलोचनात्मक सोच, नेतृत्व क्षमता, आत्मविश्वास र व्यावहारिक ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन्। सैद्धान्तिक अध्ययनसँगै वास्तविक जीवनका अनुभव सुन्न पाउँदा विद्यार्थीहरूमा करियरप्रति स्पष्ट दृष्टिकोण विकास हुने, नीति निर्माण र शासन प्रणालीबारे गहिरो बुझाइ बढ्ने तथा राष्ट्र सेवाप्रति सकारात्मक सोच पैदा हुने विश्वास लिइएको छ।IMG-20260108-WA0004

कार्यक्रमपछि विद्यार्थीहरूले उक्त कार्यक्रम अत्यन्त ज्ञानवर्धक, प्रेरणादायी तथा करियर मार्गदर्शनका लागि उपयोगी भएको प्रतिक्रिया दिएका छन्। कलेज प्रशासनले आगामी दिनमा पनि यस्ता अनुभवी व्यक्तित्वहरूसँग नियमित अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।IMG-20260108-WA0002