वराहक्षेत्र | सुनसरीको वराहक्षेत्र नगरपालिकामा नगरपालिकाका स्वास्थ्यकर्मीहरु घर घरमा पुगेर ज्येष्ठ नागरिक हरुको स्वास्थ्य परीक्षण र परामर्श गर्ने गरेका छन् । ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका हुन् ।
नगरपालिकाका चतरा अस्पताल , प्रथामिक स्वास्थ्य केन्द्र मधुवन , प्रथामिक स्वास्थ्य चौकि महेन्द्रनगर , भरौल , प्रकाशपुर लगायत अन्य आधारभुत स्वास्थ संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३–३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।
वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहताले जानकारी दिए । उक्त योजना कार्यपालिकाबाट कार्यबिधि बनाएर सञ्चालन भइराखेको छ ।
स्वास्थ्य चौकी र स्वास्थ्य संस्थामा आउन नसक्ने ज्येष्ठ नागरिकको तथा दीर्घ रोगीहरूको स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको स्वास्थ्य परीक्षण, परामर्श सेवा स्वास्थ्य परीक्षण सहित उपचार गर्ने गरिएको नगरपालिकाका सुचना अधिकारी गौरी रायले बताए ।


