प्रेक्षा आचार्य
इटहरी | आजको समयमा प्रविधि हाम्रो दैनिकीको महत्वपूर्ण हिस्सा बनिसकेको छ। शिक्षा, रोजगारी, व्यापार र सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दो छ। यस्तो अवस्थामा सबै वर्गको समान सहभागिता आवश्यक हुन्छ। महिलाको सहभागिता बढ्दै गएको भए पनि अझै पर्याप्त छैन।
एक डिजिटल प्रविधि विद्यार्थीको रूपमा हेर्दा, प्रविधि सबैका लागि समान अवसर दिने माध्यम बन्न सक्छ। महिलाले पनि प्रविधि र अन्य क्षेत्रमा सक्रिय सहभागिता जनाउँदा नयाँ सोच र उपयोगी समाधानहरू आउँछन्, जसले समग्र समाजलाई अगाडि बढाउन सहयोग गर्छ।
हाल Ladies of Liberty Alliance (LOLA) Itahari ले महिलाको क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। LOLA का कार्यक्रमले महिलालाई नयाँ सीप सिक्न, आत्मविश्वास बढाउन र नेतृत्व क्षमतामा सुधार गर्न मद्दत गरिरहेका छन्। म पनि यसको सानो पहलमा संलग्न भएको छु। LOLA ले स्थानीय कार्यशाला र mentorship कार्यक्रमहरू संचालन गरेर महिलाको प्रतिभा उजागर गर्न योगदान दिइरहेको छ।
नेपालजस्तो देशमा सीपयुक्त जनशक्ति तयार गर्नु आवश्यक छ। महिलालाई आवश्यक सीप सिकाउने र अवसर उपलब्ध गराउने हो भने रोजगारीका सम्भावना बढ्छन् र समाजमा समान सहभागिता बलियो बन्छ। अझै पनि जानकारीको कमी, पहुँचको अभाव र सामाजिक सोच चुनौतीका रूपमा रहेका छन्।
यी चुनौतीका बाबजुद धेरै युवतीहरू सिक्न र अगाडि बढ्न इच्छुक देखिन्छन्। LOLA जस्ता संस्था र कार्यक्रमहरूले उनीहरूलाई सही मार्गदर्शन, तालिम र सहयोग उपलब्ध गराउने काम गर्दैछन्। यसले दीगो र समावेशी विकासका लागि मार्ग तयार पार्नेछ।
अन्ततः प्रविधि वा कुनै पनि क्षेत्रमा सहभागिता क्षमता र अवसरसँग जोडिएको हुनुपर्छ। सबैलाई समान अवसर र सहयोग उपलब्ध गराए समाजको विकास समावेशी र दीगो बन्नेछ।


