काठमाडौं | World Research Congress र United Research Council को सहकार्यमा Asia Awards द्वारा प्रदान गरिने प्रतिष्ठित Asia Visionary CEO Award 2026 बाट नेपाली शैक्षिक तथा उद्यमशील नेतृत्वकर्ता अभिषेक श्रेष्ठ सम्मानित भएका छन्।
एसियाली मुलुकका विभिन्न क्षेत्रका प्रभावशाली नेतृत्वकर्तामध्येबाट दूरदृष्टि, नवप्रवर्तन, संस्थागत विकास र सामाजिक प्रभावका आधारमा छनोट हुँदै श्रेष्ठले यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका हुन्।
शिक्षा क्षेत्रमा दीर्घकालीन सोचसहित गुणस्तरीय जनशक्ति उत्पादनमा योगदान पुर्याउँदै आएको संस्था PVIHM को नेतृत्व गर्दै आएका श्रेष्ठले युवा पुस्तालाई सीपमुखी, व्यावसायिक तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउने उद्देश्यसहित विविध कार्यक्रमहरू अघि बढाउँदै आएका छन्। उनको नेतृत्वमा संस्थाले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि, व्यावहारिक शिक्षामा जोड र विद्यार्थी–केन्द्रित कार्यक्रमहरूलाई प्राथमिकता दिएको बताइएको छ।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै अभिषेक श्रेष्ठले भने, “यो उपलब्धि व्यक्तिगत मात्र होइन, मेरो टिम, विद्यार्थी, परिवार र शुभेच्छुकहरूको सामूहिक साथ र विश्वासको परिणाम हो। मेरो दृष्टिकोणलाई बुझेर निरन्तर साथ दिने टिम, PVIHM माथि भरोसा गर्ने विद्यार्थीहरू तथा हरेक चरणमा हौसला दिने परिवार र साथीहरूप्रति म हृदयदेखि आभारी छु।”
उनले यस सम्मानले शिक्षा र नेतृत्वको क्षेत्रमा अझ जिम्मेवार ढंगले काम गर्ने प्रेरणा थपेको उल्लेख गर्दै भविष्यमा शिक्षा, अनुसन्धान र उद्यमशीलतामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे।
Asia Visionary CEO Award एसियाली स्तरमा नेतृत्व क्षमता, रणनीतिक दृष्टिकोण, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका आधारमा प्रदान गरिने अन्तर्राष्ट्रिय प्रतिष्ठित सम्मानका रूपमा परिचित छ।


