इटहरी । इटहरीमा शनिबार (भोलि) एकदिने साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ आयोजना हुने भएको छ। प्रकाशन गृह फाइनप्रिन्टद्वारा प्रकाशित पुस्तकका लेखकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
उक्त साहित्य उत्सवबारे शुक्रबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा शनिबार बिहान १० बजेदेखि सुरु हुने कार्यक्रममा महानायक राजेश हमालसहित छ जना चर्चित लेखक सहभागी हुनेछन्।
कार्यक्रममा महानायक राजेश हमालको आत्मपरक कृति ‘युगदेखि युगसम्म’ मा केन्द्रित रहेर कवि मनु मञ्जिलले अन्तरक्रिया गर्नेछन्। यस्तै, २०८१ सालको मदन पुरस्कार विजेता कृति ‘उरमाल’ का लेखक छुदेन काविमोसँग नाट्यकर्मी प्रज्वल पराजुलीले संवाद गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, २०८१ सालको पद्यश्री पुरस्कार विजेता कृति ‘छालबाटो’ का लेखक रमेश भुसालसँग डा. अस्मिता विष्टले सहजीकरण गर्ने जानकारी दिइएको छ। डा. नवराज केसीको पुस्तक ‘स्वस्पर्श’ मा केन्द्रित अन्तरक्रियाको सहजीकरण नाट्यकर्मी सोनु जयन्तीले गर्नेछन्।
यस्तै, ददि सापकोटाको पुस्तक ‘ज्ञानिका’ माथि पत्रकार मिलन बुढाथोकीले सहजीकरण गर्नेछन् भने लोकप्रिय लेखक सुबिन भट्टराईका कृतिहरू ‘चमेलीको फूल’ र ‘बैजनी रुमाल’ माथि कवि धीरज राईले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
पुस्तक अन्तरक्रियाअघि ११ जना कविहरूले कविता वाचन गर्ने कार्यक्रम समेत तय गरिएको फाइनप्रिन्टका सञ्चालक नीरज भारीले जानकारी दिए। उनका अनुसार कार्यक्रमले पठन संस्कृतिको प्रवर्द्धन गर्नुका साथै साहित्य, पुस्तक र पाठकलाई एउटै मञ्चमा जोड्ने उद्देश्य राखेको छ।
काव्य डबली र शब्द प्रवाहको सहकार्यमा आयोजना हुन लागेको यस साहित्य उत्सवमा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने आयोजकले बताएका छन्।


