इटहरी । विगत तीन वर्षदेखि दुवै आँखाका ज्योति गुमेपछि छामछामछुमछुम गर्दै जीवन गुजारा गर्दै आएकी उदयपुरको रौतामाई गाउँपालिका–२, बोदेकी ५० वर्षीय चरीमाया तामाङलाई फेरि यो सुन्दर संसार हेर्ने सौभाग्य मिलेको छ ।
तिलगङ्गा आँखा अस्पताल काठमाडौँका डा. सन्दुक रुइतको समूहले सफल शल्यक्रिया गरेपछि उहाँलाई बाहिरी संसार र आफ्ना सन्तानको मुख देख्ने यस्तो सौभाग्य मिलेको हो । चरीमाया मात्र होइन, उदयपुरको चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविरमा करिब ४५२ जना आँखाका बिरामीको मोतीविन्दुको शल्यव्रिmया सम्पन्न भएको छ । बिहानसाँझ, घरआँगन, आफन्त परिवार सबै केवल आवाज र स्पर्शका भरमा चिनिन्थे । आशा, सपना र आत्मविश्वास सबै हराए झैँ भएको त्यो जीवनमा आँखा शिविरले पुनः नयाँ बिहानी ल्याइदिएको चरीमायाले बताउनुभयो ।
चरीमायाकी कान्छी छोरी सरिता तामाङका लागि यो शिविर केवल उपचार मात्र होइन, परिवारको फर्किएको उज्यालो पनि हो । यसै गरी चौदण्डीगढी नगरपालिका–९, डुङ्गाहाकी ५० वर्षीय पनिया सदाको पीडा पनि कम गहिरो थिएन । आठ महिनाअघि मात्र अचानक दुवै आँखाको ज्योति गुमेपछि उहाँको संसार पनि अँध्यारो बनेको थियो । विपन्न परिवारकी पनिया सदाको बनिबुतो गरेर जीविकोपार्जन गर्ने काम पनि आँखाको ज्योतिसँगै गुमेको थियो । नगरपालिकाको पहलमा आयोजना गरिएको यो आँखा शिविर केवल एउटा स्वास्थ्य कार्यक्रम मात्र होइन, अन्धकारमा हराइरहेका जीवनलाई उज्यालोतर्फ डोहो(याउने मानवीय अभियान बनेको नगरप्रमुख कालुमान लामाले बताउनुभयो । यस्ता शिविरले आँखाको ज्योति मात्र फर्काउँदैनन्, मानिसको आत्मबल, आत्मसम्मान र परिवारको खुसीसमेत पुनः जीवित गराउने उहाँको भनाइ छ ।
नगरपालिकाले हरेक वर्ष निरन्तर रूपमा बृहत् आँखा शिविर सञ्चालन गर्दै आएको छ । नगरपालिकाका अनुसार विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको यस अभियान अन्तर्गत हालसम्म सात हजारभन्दा बढी सर्वसाधारणको गाउँ गाउँमै पुगेर आँखा परीक्षण गरिएको छ । तीमध्ये करिब एक हजार जनाको आँखाको सफल शल्यव्रिmया भइसकेको नगरपालिकाले जनाएको छ । यस वर्षको शिविरमा अपेक्षा गरिएभन्दा धेरै मोतीविन्दुका बिरामी भेटिएको डा। सन्दुक रुइतले बताउनुभयो । पुस १९ देखि सञ्चालित शिविरमार्फत करिब ४५० मोतीविन्दुका बिरामी पाइएको र उहाँहरूको आँखाको शल्यक्रिया सोमबारदेखि सुरु गरिएको छ । सोमबार एकै दिन १५१ जनाको आँखाको शल्यक्रिया सम्पन्न भएको थियो ।


