मिलन अधिकारी-संखुवासभा । संखुवासभा मादी नगरपालिका–३ मुलखर्कमा ४७ औँ हाङथुम कप २०८२ अन्तर्गत अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता माघ ५ गतेदेखि सुरु हुने भएको छ ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद – मादी मुलखर्कको पहिचान फुटबलको अभियान” भन्ने मूल नाराका साथ माघ ५ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका चर्चित क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा जम्मा ८ टोली सहभागी छन् ।

उद्घाटन खेलमा इन्द्रेणी युवा क्लब फुङ्लिङ्ग संखुवासभा र कोशी प्रदेश प्रहरीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इन्द्रेणी क्लब, बराहक्षेत्र–५ सुनसरी र म्याङलुङ स्पोर्टिङ क्लब, तेह्रथुम आमनेसामने हुनेछन् । तेस्रो खेलमा डी.वाई.सी. सांगुरिगढी, भेडेटार धनकुटा र लिखु भुजी रामेछाप युवा क्लब भिड्नेछन् । चौथो खेल आयोजक हाङथुम क्लब, मुलखर्क संखुवासभा र भारतको दुधे फुटबल क्लब, दार्जिलिङ बीच हुने तालिका रहेको छ ।

प्रतियोगिताको विजेताले नगद रु. २,४२,२२२ र उपविजेताले नगद रु. १,२१,१११ पुरस्कार प्राप्त गर्नेछन् । साथै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई रु. १६,५००, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु. ६,००० पुरस्कार प्रदान गरिने हाङथुम क्लबका सचिव तेजबहादुर जीमीले जानकारी दिनुभएको छ ।

हाङथुम क्लबले ग्रामीण क्षेत्रमा फुटबलको विकास गर्दै खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यसहित वि.सं. २०३४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष असिम जीमीले बताउनुभयो ।

खेल तालिका यस प्रकार रहेको छ । 

IMG-20260113-WA0000