मिलन अधिकारी-इटहरी । सिदार्थ युवा समाज क्लबको आयोजनामा सुन्दरहरैँचा नगरपालिकामा दोस्रो सुन्दरहरैँचा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता माघ ६, ७ र ८ गते सञ्चालन हुने भएको छ ।
गाछिया खेल मैदानमा हुने अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगितामा कोशी प्रदेशका १२ पालिकाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । महिलाहरुमा भलिबल खेललाई प्रोत्साहन गर्न र स्थानीय तहमा खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा विजेता टोलीलाई नगद १ लाख २५ हजार रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता हुने टिमले नगद ६२ हजार ५ सय रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षमा खेलकुद विकासका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरेकोे बताउदै आगामि साल १ करोड बजेट विन्योजन गराउर्दै खेलकुदको विकासमा निरन्तर काम गर्ने सुन्दरहरैंचा नगर खेलकुद विकासका सदस्य सचिव खड्ग बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

सिदार्थ युवा समाज क्लबले स्थापना भएको छोटो अवधि मै खेलकुदसँगै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको उल्लेख गर्दै उपमेयर कप महिला भलिबल प्रतियोगितालाई पनि व्यवस्थित र सफल रूपमा सम्पन्न गराउने तयारी भइरहेको अध्यक्ष असिम राईले बताउनु भयो ।

अन्तरपालिका स्तरका महिला भलिबल टिमहरूको सहभागिता रहने प्रतियोगितालाई सफल बनाउन स्थानीय तह, खेलकुद संघ–संस्था तथा खेलप्रेमीहरूको उल्लेख्य सहयोग रहने विश्वास आयोजकले व्यक्त गरेको छ ।


