सुन्दरहरैँचा मिलन अधिकारी । सिदार्थ युवा समाज क्लबको आयोजनामा सुन्दरहरैँचा नगरपालिकामा दोस्रो सुन्दरहरैँचा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

गाछिया खेल मैदानमा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका ११ स्थानीय तहका महिला टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगिताका सबै खेलहरू बेस्ट–५ प्रणालीमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।

उद्घाटन खेलमा आमचोक गाउँपालिका, भोजपुरले बेलबारी नगरपालिका, मोरङलाई लगातार ३–० सेटले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आमचोकले पहिलो सेट २५–१०, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले जितेको हो ।

दोस्रो खेलमा लिम्चुङबुङ गाउँपालिका, उदयपुरले केराबारी गाउँपालिका, मोरङलाई ३–० सेटले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ । लिम्चुङबुङले पहिलो सेट २५–२०, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१३ ले जित हात पार्‍यो ।

त्यस्तै तेस्रो खेलमा लेटाङ नगरपालिकाले विराटनगर महानगरपालिकालाई ३–० सेटले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ । लेटाङले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–११ ले खेल आफ्नो पक्षमा पार्‍यो ।

प्रतियोगिताको उद्घाटन समारोह सुन्दरहरैँचा नगरपालिका उपप्रमुख अकली चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। समारोहका प्रमुख अतिथि नगरप्रमुख केदार प्रसाद गुरागाईं रहनुभएको थियो भने राष्ट्रिय भलिबलका पूर्वखेलाडी जय नारायण चौधरी विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले महिलाहरूमा भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा स्थानीय तहमा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

त्यस्तै  नगरप्रमुख गुरागाईंले चालु आर्थिक वर्षमा खेलकुद विकासका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै आगामी दिनमा खेलकुद क्षेत्रमा अझै लगानी बढाइने बताउनुभयो । 

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ६२ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका बाँकी खेलहरू भोलि सञ्चालन हुने आयोजकले जनाएको छ ।