इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह चुनावी प्रचारप्रसारका क्रममा तेह्रथुम पुग्नुभएको छ । 

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुमको म्याङ्लुङ देवीथानमा स्थानीय मतदातासँग भेटघाट गर्नुभएको हो। स्थानीयसँगको अन्तरक्रियामा शाहले तेह्रथुमलाई कागज वा पुस्तकबाट मात्र होइन, प्रत्यक्ष अनुभव गरेर बुझ्न चाहेको बताउनुभएको छ । उनले रास्वपाका सभापति तथा उम्मेदवार इन्जिनियरिङ पृष्ठभूमिका रहेको उल्लेख गर्दै स्थानीयस्तरमै सकिने र व्यवहारिक कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

तेह्रथुममा आयोजित भेटघाट कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्की पनि सहभागी हुनुभएको थियो। शाहले स्थानीय समस्यालाई प्रत्यक्ष रूपमा बुझेर नीति तथा योजनामा समेट्ने उद्देश्यले भेटघाट गरिएको बताउनुभयो । झापा–५ बाट उम्मेदवारी दिनुभएका शाह पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियान सञ्चालन गरिरहनुभएको छ । यसअघि उहाँ इलाम, ताप्लेजुङ र पाँचथरका विभिन्न स्थानमा पुग्नुभएको थियो ।