सुनसरी, माघ १० । विद्यार्थी राजनीतिबाट संगठित पार्टी राजनीतिसम्मको लामो अनुभव बोकेका नेता टीका माङ्लेन लिम्बू (टिकाराम लिम्बू) लाई नेकपा (एमाले) सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ ।
वि.सं. २०४१ भदौ २१ गते ताप्लेजुङ जिल्लाको मामाङ्खे (हाल श्रीजंघा–६) मा जन्मिनुभएका लिम्बू हाल धरान उपमहानगरपालिका–१०, सेवालुङ चोकमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएको छ। उहाँ पिता देउकुमार लिम्बू र माता सुनमाया लिम्बूका सुपुत्र हुनुहुन्छ। पारिवारिक जीवनमा उहाँकी धर्मपत्नी सीमा लिम्बू र छोरा अनुरो लिम्बू रहनुभएको छ।
शैक्षिक रूपमा स्नातकोत्तर तहमा राजनीति शास्त्र र स्नातक तहमा कानुन (एलएलबी) अध्ययन गर्नुभएका लिम्बू विद्यार्थी राजनीतिमा सक्रिय रहँदै नेतृत्वमा स्थापित हुनुभएको हो। उहाँले २०५६ सालमा ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयमा कक्षा ९ पढ्दादेखि अनेरास्ववियुमा आबद्ध भई राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। त्यसपछि २०५८ सालमा महेन्द्र क्याम्पस, इलाम हुँदै धरानस्थित महेन्द्र क्याम्पसमा सक्रिय रहनुभयो।
२०६० सालमा क्याम्पस कमिटी सदस्य बनेका लिम्बू २०६३ र २०६५ मा लगातार दुई कार्यकाल महेन्द्र क्याम्पस धरानको क्याम्पस कमिटी अध्यक्ष निर्वाचित हुनुभयो। २०६२ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य रहनुभएका उहाँ २०६७ सालमा अनेरास्ववियु सुनसरी जिल्ला कमिटी अध्यक्ष र २०६९ सालमा अनेरास्ववियु केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभयो।
पार्टी राजनीतिमा २०६४ सालदेखि नेकपा (एमाले) का संगठित सदस्य रहनुभएका लिम्बूले सोही वर्ष धरान–१० को वडा सचिवको जिम्मेवारी सम्हाल्नुभयो। त्यसपछि २०६५ सालमा धरान नगर कमिटी सदस्य तथा २०६८ सालमा सचिवालय सदस्य रहनुभयो। २०७७ सालमा जिल्ला कमिटी सदस्य बन्नु भएका उहाँ २०७८ को सातौँ र २०८१ को आठौँ जिल्ला अधिवेशनबाट सुनसरी जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभएको थियो ।
राजनीतिसँगै सामाजिक र स्वयंसेवी अभियानमा समेत सक्रिय रहनुभएका लिम्बू २०७२ सालको भूकम्पपछि पुनर्निर्माण अभियान तथा २०७३ सालको मेची–महाकाली अभियानमा राष्ट्रिय स्वयंसेवकका रूपमा खटिनुभएको थियो। उहाँ लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सदस्य, किरात याक्थुङ चुम्लुङका सदस्य, ताप्लेजुङ–सुनसरी सरोकार समाज र नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्यसमेत रहनुभएको छ।
२०६२/६३ को जनआन्दोलनका क्रममा हिरासतसमेत बस्नुभएका लिम्बू लोकतान्त्रिक आन्दोलन, विद्यार्थी राजनीति र पार्टी संगठन निर्माणमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ।
एमालेले सुनसरी–१ मा अनुभवी, शैक्षिक र संगठनात्मक पृष्ठभूमि भएको उम्मेदवारका रूपमा लिम्बूलाई अघि सारेको जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा उहाँको उम्मेदवारीलाई स्थानीय राजनीति र युवा नेतृत्वको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

