इटहरी (सुनसरी) — श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालद्वारा सञ्चालित मंगल राधिक सदानन्द प्रणामी अस्पतालको आयोजनामा मानव कल्याण आरोग्य ज्ञान महायज्ञ–२०८२ कार्यक्रम इटहरीमा आयोजना हुने भएको छ।
मुक्तिधाम इटहरी–४, सुनसरीमा अवस्थित उक्त अस्पतालले मानव कल्याण, स्वास्थ्य चेतना अभिवृद्धि तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागेको हो। कार्यक्रम आगामी २०८२ साल माघ १९ गतेदेखि माघ २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार महायज्ञअन्तर्गत निःशुल्क ओपीडी सेवा, स्वास्थ्य परीक्षण, विशेष स्वास्थ्य शिविर, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। साथै अस्पतालको भौतिक संरचना तथा सेवा विस्तारको उद्देश्यले हाल सञ्चालनमा रहेको १५ शय्याको अस्पताललाई आगामी दिनमा १०० शय्यासम्म विस्तार गर्ने लक्ष्यसमेत लिइएको छ।
श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल एक धार्मिक तथा सामाजिक संस्था हो, जसले शिक्षा, स्वास्थ्य, धर्म–संस्कृति संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। प्रतिष्ठानले विगतदेखि नै विपन्न, असहाय, ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको मुल समारोह समितिका अध्यक्ष हेम प्रसाद घिमिरेले बताउनुभयो।
विभिन्न प्राविधिक कारणले केही समय बन्द रहेको अस्पताल आवश्यक सुधारपछि पुनः सञ्चालनको चरणमा रहेको र सोही अवसरमा महायज्ञ आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ।
महायज्ञ सफल बनाउन सम्पूर्ण सञ्चारकर्मी, सामाजिक संघसंस्था तथा सर्वसाधारणलाई सहयोग र सहभागिताका लागि आग्रह गरिएको छ।


