इटहरी । नेपालभरका १९ वटा मेडिकल कलेजका विद्यार्थीहरूको सहभागितामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बहुविषयक विद्यार्थी सम्मेलन ‘साईन्याप्स २०२६’ सुरु भएको छ । 

गैर–राजनीतिक तथा गैर–नाफामुखी विद्यार्थी संस्थाद्वारा आयोजना गरिएको साईन्याप्स २०२६ को मूल नारा ‘पुनर्जीवित, पुनः जोडिने र लचिलोपन’ तय गरिएको छ । विद्यार्थी कल्याण समाजको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा देशका विभिन्न मेडिकल कलेजहरुको उपस्थिती रहेको छ । आठ वर्षपछि दोस्रो पटक आयोजना गरिएको साईन्याप्स सम्मेलनले चिकित्सा शिक्षा मात्र होइन, विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक सन्तुलनमा समेत जोड दिएको आयोजकको भनाइ छ । कार्यक्रम संयोजक प्रज्ज्वल खाणले साईन्याप्स २०२६ ले देशभरका मेडिकल, डेन्टल तथा प्यारामेडिकल विद्यार्थीहरूलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको बताउनुभयो ।

साईन्याप्स महोत्सव केवल विद्यार्थीहरूको भेलामा सीमित नभई पाठ्यक्रम बाहिरका बौद्धिक, कलात्मक तथा शारीरिक क्षमताको विकासका लागि राष्ट्रिय मञ्च बन्ने आयोजकको विश्वास छ । कार्यक्रमको उद्घाटन गर्दै बीपी प्रतिष्ठानका उपकुलपति डाक्टर बिक्रम श्रेष्ठले साईन्याप्स महोत्सवले चिकित्सा विद्यार्थीहरूको शैक्षिक दक्षतासँगै मानसिक स्वास्थ्य, सामाजिक समन्वय र मानवतामुखी दृष्टिकोण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका रेक्टर डा संजीव शर्माले साईन्याप्सले खेलकुद तथा सांस्कृतिक गतिविधिमार्फत विद्यार्थीहरूलाई शैक्षिक बोझबाट आवश्यक मानसिक विश्राम प्रदान गरेको बताउनुभयो ।

त्यसैगरी, रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले साईन्याप्स महोत्सवले प्रभावकारी सञ्चार, नेतृत्व क्षमता र टिमवर्कजस्ता सामाजिक तथा अन्तरव्यक्तिगत सीप विकासमा विशेष ध्यान दिएको बताउनुभयो । सम्मेलन अवधिभर खेलकुद, साहित्यिक, कला संस्कृति तथा वैज्ञानिक गतिविधिहरू सञ्चालन हुनेछन् । साईन्याप्स पहिलो पटक सन् २०१८ मा आयोजना गरिएको थियो ।