इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको छ ।

शुक्रबार सुरु हुने अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको हो । माघ २३ गते शुक्रबारदेखि माघ २६ गते सोमबारसम्म स्थानीय बिदा दिने गरी कार्यपालिकाको निर्णय रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिनुभयो । खेलको दर्शन र सहभागिता समेतलाई आधार मानेर स्थानीय बिदा प्रदान गरिएको पालिकाले जनाएको छ । २४ गते शनिबार बिदा परेकाले स्थानीय बिदा तीन दिन मात्र हुनेछ । जिल्ला खेलकुद विकास समिति आयोजक भएपनि प्रतियोगिताको सम्पूर्ण संयोजन सिदिङ्वा गाउँपालिकाले गरेको छ ।

संयोजनको जिम्मेवारी समेत रहेको, प्रतियोगितामा पालिकाभरीका विद्यालयका विद्यार्थी तथा शिक्षकसमेत सहभागी हुनेसहितका कारणबाट स्थानीय बिदा दिएको अधिकारीले बताउनुभयो । बिदाका समयमा अत्यावश्यक काम बाहेक अरु कामहरू हुने छैनन् । सिदिङ्वा गाउँपालिका वडा नं ४ स्थित टावरडाँडामा सञ्चालन हुने १६ औं अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा यहाँका ९ स्थानीय तहका करिव एक हजार विद्यार्थी खेलमा सहभागी हुँदैछन् । ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल दुई सय दुई पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिले १३ औं अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड देखि सदरमुकाम बाहिर प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । १३ औं अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सिरिजङ्गाको तेल्लोकमा, १४ औं आठराई त्रिबेणी गाउँपालिका–२ फूलबारीस्थित महभीर खेलमैदानमा र १५ औं मैवाखोला गाउँपालिका–३ साँघुस्थित नारायणी मावि साँघुको खेल मैदानमा सम्पन्न भएको थियो । यसपटक सिदिङ्वाको साब्लाखुस्थित टावरडाँडा खेल मैदानमा हुँदै छ ।