इटहरी । उदयपुरमा तीन हजार ८ सय ४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २६ गतेदेखि २९ गतेसम्म कक्षा ६ मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

जिल्लाका आठवटै पालिकामा सञ्चालन हुने उक्त अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५ सय ४९, त्रियुगा नगरपालिकामा एक हजार १ सय १९, कटारी नगरपालिकामा ७ सय १६ र बेलका नगरपालिकामा ६ सय ६२ जना किशोरीलाई खोप लगाइने कार्यालयले जनाएको छ ।

त्यसैगरी, उदयपुरगढी गाउँपालिकामा २ सय ६१, रौतामाई गाउँपालिकामा २ सय १६, ताप्ली गाउँपालिकामा १ सय ४४ तथा लिम्चुङबुङ गाउँपालिकामा १ सय ६ जना किशोरीलाई एचपिभी खोप लगाइनेछ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अभियानका क्रममा आठवटै पालिकामा ३ सय ९४ वटा खोप केन्द्र तोकिएका छन् ।

ती केन्द्रमा ३ सय ६३ जना खोप लगाउने स्वास्थ्यकर्मी र ३ सय ९४ जना स्वयंसेवक परिचालन गरिनेछ । गत वर्ष उदयपुरमा एचपिभी खोप १८ हजार ३ सय ८९ जना किशोरीलाई लगाइएको कार्यालयले जानकारी दिएको छ ।