इटहरी । पाथीभरा माध्यमिक विद्यालय इटहरीको आयोजनामा यही फागुन १ र २ गते ‘इटहरी बालकला साहित्य महोत्सव २०८२’ सञ्चालन हुने भएको छ। विद्यार्थीहरूमा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
महोत्सव वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बालसाहित्य सर्जकहरूसँगै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने पाथिभरा इङलिस बोर्डिङ स्कुलका अध्यक्ष निर्मल कुमार रिजालले बताउनुभयो।
कार्यक्रम संयोजक विक्रम कुमार घिमिरेले महोत्सव बालप्रतिभालाई प्रोत्साहन गर्ने थलो बन्ने विश्वास व्यक्त गर्दै भन्नुभयो,
“बालबालिकामा सिर्जनात्मक क्षमता विकास गर्दै साहित्यलाई व्यवहारिक रूपमा सिकाउने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो।”
त्यस्तै, पाथीभरा इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक डा. गोपाल श्रेष्ठले महोत्सवले पठन संस्कृतिलाई मजबुत बनाउने बताउँदै भन्नुभयो,
“आजको डिजिटल युगमा बालबालिकालाई पुस्तक र सिर्जनासँग जोड्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक छन्।”
महोत्सवमा शिक्षक, कलाकार तथा साहित्यकारद्वारा कला र साहित्यका विभिन्न विधामा कार्यशाला सञ्चालन गरिने छ। करिब सात हजार (७,०००) सहभागीको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
इटहरी उपमहानगरपालिकाको अभिभावकत्वमा आयोजना हुने महोत्सवमा वुकल्यान्ड काठमाडौं सह–आयोजक रहेको छ। साथै, काव्य–डबली, व्यासन कोशी प्रदेश, प्यापब्सन सुनसरी, नगर प्याब्सन इटहरी, हिसान सुनसरी, संगीत साधना प्रतिष्ठान इटहरी, कारखाना, वेदा, प्ले नेपाल र नाईसको साझेदारी तथा सहकार्य रहेको छ।
महोत्सव पाथीभरा माध्यमिक विद्यालय इटहरीको परिसरमा बिहान ९ बजेदेखि दिउँसो ३:३० बजेसम्म सञ्चालन हुने जनाइएको छ।



