इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को संगठनात्मक आधार झनै मजबुत बन्दै गएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सुनसरी जिल्ला उपाध्यक्ष हरिशंकर कर्णको नेतृत्वमा विभिन्न नेता–कार्यकर्ताहरू रास्वापामा प्रवेश गरेका छन् । आयोजित कार्यक्रममा कर्ण सहित उहाँका समर्थकहरूलाई रास्वापाका जिल्ला तथा क्षेत्रीय नेतृत्वले स्वागत गरेका थिए ।

प्रवेश कार्यक्रममा बोल्दै हरिशंकर कर्णले देशमा सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका कारण रास्वापा रोजेको बताउनुभयो । उहाँले क्षेत्र नं. ३ मा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रास्वापाका नेताहरूले नयाँ साथीहरूको आगमनले पार्टीलाई संगठन विस्तार र आगामी निर्वाचन तयारीमा थप ऊर्जा मिलेको बताएका छन्।

उनीहरूले क्षेत्र नं. ३ लाई परिवर्तनको आधार क्षेत्र बनाउने लक्ष्यसहित अघि बढ्ने उल्लेख गरे । हालै विभिन्न राजनीतिक दलबाट नेता तथा कार्यकर्ताहरू रास्वापामा आवद्ध हुने क्रम बढ्दै गएको भन्दै पार्टीले यसलाई जनताको विश्वासको परिणामका रूपमा लिएको छ ।