इटहरी । हिसान सुनसरी कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि इटहरीको सुष्मा गोदावरी कलेजले जितेको छ ।

इटहरी तालतलैयास्थित बुढासुब्बा खेल मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा गत वर्षको उपविजेता सुष्मा गोदावरीले विश्व आदर्श कलेजलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको हो ।

निर्धारित समयको १९ औं मिनेटमा विश्व आदर्शका दिनेश गौतमले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर ५५ औं मिनेटमा सुष्मा गोदावरीका शिव राईले गोल फर्काएपछि खेल बराबरीमा आयो । बाँकी समय दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । उपाधिसँगै सुष्मा गोदावरीले ३० हजार रुपैयाँ र शिल्ड हात पारेको छ । उपविजेता बनेको इटहरीको विश्व आदर्शले १५ हजार रुपैयाँ पाएको छ ।

फाइनल खेलको म्यान अफ द म्याच विश्व आदर्शका दिनेश गौतम भए । उनले १ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुष्मा गोदावरीका शिव राई घोषित भए । उनले सर्वोत्कृष्ट भएबापत ५ हजार रुपैयाँ पाए । उच्च गोलकर्ता विश्व आदर्शका निमस कार्की भए भने दिप्सन राउत बेस्ट डिफेन्स घोषित भए । सुष्मा गोदावरीका राहुल लिम्बू बेस्ट गोलकिपर, समिर चौधरी बेस्ट मिडफिल्डर, देवराज श्रेष्ठ बेस्ट फरवार्ड घोषित भए । उनीहरूले जनही २–२ हजार रुपैयाँ पाए ।