इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित बाङ्गे बजारमा अनुगमन गरिएको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बिहिवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले बाङ्गे बजार अनुगमन गरेको हो ।

अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको, म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप–प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो । वडा कार्यालय , नगरपालिकाको कार्यलयमा गर्नु पर्ने दर्ता प्रकृया , राजश्वको रसिद ,बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलो लगायत बिषय तथा खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुका पसलहरु अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा तथा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताउनुभयो ।

अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलालाई नियन्त्रणमा लिएर जरिबाना समेत गरिएको नगर उप– प्रमुख नन्दकुमारी सुनुवारले बताउनुभयो ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रशासन शाखा तथा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका प्रतिनिधि, नेपाल प्रहरीका अधिकारी , नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।