इटहरी | विद्यार्थीलाई विभिन्न खानाका परिकारबारे जानकारी गराउने, पकाउने सीप विकास गर्ने तथा व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले इटहरीको शिक्षादीप एकेडेमी स्कुलले ‘फुड फेस्टिभल’ आयोजना गरेको छ।
इटहरी उपमहानगरपालिका वडा नं. १६ स्थित शिक्षादीप एकेडेमी स्कुलमा अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजित उक्त फेस्टिभलमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले आफैंले तयार पारेका विभिन्न परिकारहरू स्टलमार्फत प्रदर्शन तथा बिक्री गरेका थिए।
फेस्टिभलमा सहभागी विद्यार्थीहरूले किताबी ज्ञानसँगै व्यावहारिक सीप सिक्न पाएको र सानो स्तरमै व्यापार–व्यवसायको अनुभव हासिल गर्न सकेको बताएका छन्।
कार्यक्रमका क्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावक खिना खतिवडाले यस्ता कार्यक्रमले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
विद्यालयका शिक्षक खगेन्द्र कट्टेलका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप र आत्मनिर्भर सोच विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
फेस्टिभलमा १० वटा स्टल राखिएको थियो। स्टलहरूमा सेलरोटी, खीर, अचार, गुलाबजामुन, पानीपुरी, चटपटे, आलुचप, मःम, पकौडा, फलफूल, ब्रेड रोललगायत दर्जनौँ परिकारहरू राखिएका थिए। विद्यार्थीहरूले समूहगत रूपमा तयारी, सजावट र बिक्री व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए।
विद्यालयका प्रधानाध्यापक सहदेभ काफ्लेले यस्ता गतिविधिले विद्यार्थीभित्र रहेको अन्तर्निहित प्रतिभा पहिचान गर्न र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
करिब ४ सय ७५ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा आयोजित फुड फेस्टिभलले विद्यार्थी, शिक्षक र अभिभावकबीच उत्साहपूर्ण वातावरण सिर्जना गरेको विद्यालयले जनाएको छ।


