इटहरी । झापाको कचनकवल गाउँपालिका वडा नं। ७ स्थित दिप ज्योती सामुदायिक वन क्षेत्र भित्र एक जङ्गली भाले हात्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार अपरान्ह जलथल वन क्षेत्रभित्र हात्ती मृत अवस्थामा देखिएपछि सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, चन्द्रगढीलाई जानकारी गराएका थिए । केही समययता यहाँ वन क्षेत्रमा हात्तीको ओहोरदोहोर बढिरहेको थियो ।वन कार्यालयबाट खटिएको प्राविधिक टोली घटनास्थलमा पुगेर आवश्यक निरीक्षण तथा मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरेर हात्तीको शव व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
हात्तीको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । हात्ती प्रभावित झापामा बारम्बार मृत अवस्थामा हात्ती भेटिनु दुःखद भएको र हात्तीसम्बन्धी खोज अनुसन्धान गर्दै आउनुभएका संरक्षणकर्मी शङ्कर लुइटेलले बताउनुभयो । मृत अवस्थामा हात्ती भेटिने तर यसको गम्भीर अनुसन्धान नहुँदा संरक्षणमा चुनौती थपिदै गएको उहाँले बताउनुभयो ।


