इटहरी । मोरङको पथरी शनिश्चरेको रेडस्टार अङ्ग्रेजी मावि सातौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता –२०८२ को च्याम्पियन बनेको छ । बिहीबार सम्पन्न भएको उक्त प्रतियोगिताको विभिन्न खेलकुद प्रतियोगिताहरूमा रेडस्टार माविले १९ स्वर्ण, ५ कास्य र ४ रजत सहित कुल २८ वटा पदक जितेर नगर– च्याम्पियन बन्न सफल भएको हो।

यो सँगै रेडस्टार मावि संस्थागत विद्यालयहरूको तर्फबाट पथरी शनिश्चरे नगरपालिकामै सबैभन्दा बढी स्वर्ण सहित धेरै पदक जितेर रनिङ सिल्ड उचाल्ने विद्यालय पनि बन्न सफल भएको छ । यसैगरी, सोहि प्रतियोगितामा पथरी शनिश्चरे वडा नं ०८ को बुद्ध माविले ७ स्वर्ण, ७ कास्य र ६ रजत सहित कुल २० वटा पदक जित्दै ’फ्रष्ट रनर अप ’ बनेको थियो । 

प्रतियोगिता पञ्चायत माध्यमिक विद्यालयको प्राङ्गणमा गत माघ २७ देखि संचालन भएको  त्रिदिवसीय उक्त प्रतियोगितामा नगरभित्रका ४१ वटा संस्थागत र २७ वटा सामुदायिक गरेर कुल ६८ वटा विद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरूले विभिन्न खेलहरूमा प्रतिस्पर्धा गरेका थिए । विभिन्न विधाहरूका विजयी छात्र तथा छात्रहरूलाई पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एक भव्य समापन समारोहका बीच मेडल, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गर्नुभएको थियो ।

  उक्त प्रतियोगितामा विभिन्न विद्यालयहरूबाट तीन सय विद्यार्थी सहभागी भएका थिए ।  भलिबल, कबर्डी (छात्र, छात्रा), एथलेटिक्स (ट्रयाक) १ सय देखि ३ सय मिटर दौड, रिले दौड, एथलेटिक्स (फिल्ड)तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो, सटफुट, मार्च पास लगायतका दर्जन बढी विधाहरूमा प्रतिस्पर्धा भएको थियो ।

तीन दिनसम्म चलेको सो प्रतियोगितामा भलिबल , एथलेटिक्स  , कबर्र्डी , कराते लगायतका विभिन्न प्रतिस्पर्धाहरू भएको आयोजक पञ्चायत माविका प्रधानाध्यापक  अर्जुन कुमार बुढाथोकीले बताउनुभयो ।  पञ्चायत माविको बुक फ्री डे कार्यक्रम अनुसार फुड फेस्टिभल तथा  विभिन्न प्रदर्शनीहरू राखिएको थियो ।