इटहरी । भारतबाट झोलामा बोकेर ल्याएको कुखुरा सीमाक्षेत्रका फ्रेस हाउसमा जम्मा गरेर पोल्ट्रीसम्म पु¥याउने गरेको खुलेको छ ।

कुखुरापालन गरेर पोल्ट्रीले फ्रेस हाउससम्म वितरण गर्नुपर्नेमा उल्टै फ्रेस हाउसबाट पोल्ट्रीमा कुखुरा पु¥याउने गरेको पाइएको हो । सशस्त्र प्रहरी बल नेपाल सीमासुरक्षा बल रानीले शनिबार विराटनगर–१७ स्थित अप्सरा फ्रेस हाउसबाट कुखुरा लोड गरिरहेको अवस्थामा सुन्दरहरैँचा–११ का सञ्जीव श्रेष्ठलाई नियन्त्रणमा लिइएको थियो । फ्रेस हाउसबाट झोलामा राखिएको कुखुरा ल्याउँदै प्रदेश १–०२–००२ च ३६३७ नम्बरको बलेरो जिपमा लोड भइरहेको अवस्थामा सशस्त्रले नियन्त्रणमा लिएको थियो । चालक र तीन सय थान कुखुरा लोड गरिएको सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा न्यु पाथीभरा पोल्ट्री सप्लायर्स सुन्दरहरैँचा सलकपुरको कुखुरा रहेको खुलेको थियो ।

सशस्त्र प्रहरी बल सीमासुरक्षा पोस्ट रानी प्रहरी नायब उपरीक्षक तिलक खड्काका अनुसार नियन्त्रणमा लिएको कुखुरा क्यारेन्टाइनमार्फत त्यसको कागजात र विवरण माग गरिएको थियो । कागजातबिना फ्रेस हाउसबाट पोल्ट्रीमा पठाएको खुलेको थियो । तीन लाख रुपियाँ मूल्य बराबरका कुखुरा पशु क्वारेन्टाइन, मासु व्यवसायी सङ्घ, अन्डा व्यवसायी सङ्घ र स्थानीय प्रतिनिधिसमेतको रोहबरमा नष्ट गरी मुचुल्का उठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । छ लाख रुपियाँ मूल्याङ्कन गरेर कुखुरा लोड भएको बलेरो जिप विराटनगर भन्सारमा बुझाइएको छ । मासु व्यवसायी सङ्घ मोरङका अध्यक्ष सुवास शिवाकोटीका अनुसार भारतबाट अवैध रूपमा कुखुरा आयात गर्दा नेपालका किसानले उत्पादन गरेका कुखुराले मूल्य पाउँदैनन् ।

जसका कारण किसान हतोत्साहित भएर पाल्न छोड्छन् । पोल्ट्रीहरूले भारतबाट अवैध रूपमा कुखुरा भिœयाउँदा त्यसको असर किसान, मासु व्यवसायी सङ्घ र उपभोक्तासम्मलाई पर्ने शिवाकोटीको भनाइ छ । सशस्त्रले नियन्त्रणमा लिइएका कुखुराका लागि नक्कली भेटेरिनरी बिलसमेत जारी गराइएको भेटिएको छ । सामान्यतः एक जिल्लाबाट अर्को जिल्लामा कुखुरा पठाउँदा पोल्ट्री फार्मको निरीक्षण गरेर मान्यता प्राप्त भेटेरिनरी चिकित्सकले स्वस्थताको प्रमाणपत्र जारी गर्नुपर्ने हुन्छ । मासु व्यवसायी सङ्घ शिवाकोटीका अनुसार मोरङको विराटनगर–१७ स्थित अप्सरा फ्रेस हाउसबाट पोल्ट्री फार्ममा कुखुरा पठाउन पनि चिकित्सक प्रमाणपत्र जारी गरेको पाइएको छ ।

न्यु पाथीभरा पोल्ट्री सप्लायर्स पाथीभराका सञ्चालक सन्तोष न्यौपानेसँग यस विषयमा कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । सशस्त्र प्रहरी बल सीमासुरक्षा रानीका प्रहरी नायब उपरीक्षक खड्काले झोलामा कुखुरा ल्याउँदादेखि फ्रेस हाउसमा जम्मा गरेको सबै सूचना सङ्कलन गरेर गाडीमा लोड गर्न थालेपछि मात्रै नियन्त्रणमा लिइएको दाबी गर्नुभयो । भारतको पोल्ट्रीले ४५ दिनदेखि ५५ दिनसम्ममा कुखुरा बिक्री गरिसक्ने गर्छन् । त्यसपछिका कुखुरा भारतमा खपत नहुने भएकाले त्यसलाई बुढा कुखुराका रूपमा लिइन्छ । तिनै बुढा कुखुरा खुला सीमामा चाँजोपाँजो मिलाएर नेपाल भित्र्याउने गरिन्छ । अध्यक्ष शिवाकोटीका अनुसार भारतबाट आउने एउटै कुखुरा तीन केजीभन्दा माथिको हुन्छ ।