इटहरी । फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका विनोद ढकालले कोराबाटै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । 

निर्वाचनका लागि कार्यकर्ता भेटघाटकै क्रममा गत बिहीबार बुवाको निधन भएपछि ढकाल अहिले कोरामा रहनुभएको छ । आइतबार कोराबाट ढकालले आफ्नो क्षेत्रका मतादातासमक्ष प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । मोरङ–६ का लागि एमालेले निर्वाचन कमान्डरको रूपमा केन्द्रीय सदस्य लालबाबु पण्डितलाई जिम्मेवारी तोकेको छ । केन्द्रीय सदस्य पण्डितले सो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । ढकालको प्रतिबद्धतामा क्षेत्रगत पूर्वाधार योजनालाई प्राथमिकतामा राखिएको छ । जसमध्ये विराटनगरको डुबान समस्याका लागि योजना निर्माण, चक्रपथ निर्माण गतिरोध अन्त्य, क्षेत्रभित्र पर्ने गछिया, बुढीखोला, केसलिया र सिङ्घिया नदी नियन्त्रणमा विशेष योजना, रूग्ण उद्योग सञ्चालनमा ल्याउने नीतिगत पहल, मजदुर पक्षीय कार्यक्रम, साना तथा घरेलु उद्योगको प्रवर्धन गर्ने उल्लेख छ ।

यसै गरी विद्यालयमा स्मार्ट क्लास रुम, जेनजी पुस्तालाई प्रविधिबाटै उत्पादन, स्वरोजगारमूलक शिक्षा, गुरुकुल र मदरसा शिक्षालाई विश्वविद्यालयसँग जोड्न नीतिगत पहल, थारू ग्राम र संस्कृतिको जगेर्ना, मल खाद तथा बिउ र सिँचाइका कामलाई प्राथमिकता दिने उल्लेख छ । यसै गरी सुन्दरहरैँचाको छ पोखरी, बुढीगङ्गाको सिङ्घीया खोला र बौराहाको मधुपार्कको संवर्धन अनि हसिना सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने उल्लेख छ । यसै गरी कोशी नहरलाई हरियाली सडक सञ्जालमा विकास गर्ने, नवप्रवर्तन, सामाजिक सुरक्षाका विशेष कार्यक्रमलाई बढावा दिने उल्लेख छ । नेता ढकालले आफू निर्वाचनका बेला पितृवियोगमा रहे पनि मन र वचन मतदातासँगै रहेको बताउनुभएको छ ।

उहाँले मतदातासँग आफूले प्रत्यक्ष भेटघाट गर्न नपाएको बताउँदै निर्वाचनको समयमा मात्रै नभई अन्य बेला पनि आफ्नो सम्बन्ध सधैँ सुमधुर रहेको बताउनुभयो । उहाँका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको गत बिहीबार निधन भएपछि विराटनगर–६, सम्झनाचोकस्थित मूल घरमा धार्मिक परम्परा अनुसार कोरामा बसेर पितृको तरणतारणमा सरिक हुनुभएको छ । मोरङ–६ मा नेपाली कांग्रेसका डा। शेखर कोइराला, नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुबिना आचार्यसँग नेता ढकालको प्रतिस्पर्धा रहेको छ ।