सुनसरी | प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी यमुना केसी यतिबेला जनताको घरदैलोमा पुग्दै आशा, भरोसा र परिवर्तनको सन्देश सुनाइरहेकी छिन्। राजनीतिक भाषणभन्दा जनताको पीडा सुन्ने शैलीका कारण उनीप्रति स्थानीय मतदाताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ।

टोल–टोलमा पुग्दा उनलाई वृद्धहरूको आशीर्वाद, युवाको साथ र महिलाको समर्थन मिलिरहेको छ। “हामीलाई बोल्ने होइन, सुन्ने नेता चाहिएको हो,” भन्ने जनताको आवाजलाई उनले आफ्नो अभियानको आधार बनाएकी छिन्।

उनले सार्वजनिक गरेका मुख्य एजेन्डाहरू यसप्रकार छन् :

रामधुनीलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी ,भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा, स्वास्थ्य र खानेपानी सेवा निःशुल्क बनाउने ,कृषिमा आधुनिकीकरण र बजारीकरण, प्रत्येक स्थानीय तहमा गुरुकुल विद्यालय सञ्चालन, मठ–मन्दिर, गौशाला, धर्मशाला तथा धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण , जेन्जी पुस्ताका माग सम्बोधन, सञ्चार क्षेत्रको विकास र यातायात सुधार ,निःशुल्क इन्टरनेट सेवा र विद्यालयमा आईसीटी ल्याब स्थापना र महिलाको सहभागिता र नेतृत्वलाई प्राथमिकता रहेको छ ।

स्थानीय किसानहरू भन्छन्, “हामीले वर्षौँदेखि वाचा मात्र सुनेका छौं, तर यसपटक काम गर्ने उम्मेदवार देखेका छौं।” युवाहरू पनि रोजगारी र प्रविधि सम्बन्धी योजनाले प्रभावित भएको बताउँछन्। आफ्नो चुनावी अभियानबारे के.सी. भन्छिन्, “जनताको विश्वास जित्नु नै मेरो सबैभन्दा ठूलो शक्ति हो। म पदका लागि होइन, परिवर्तनका लागि उठेकी हुँ।”

चुनावी माहोल तातिँदै जाँदा सुनसरी–४ मा स्वतन्त्र उम्मेदवारको रूपमा उनले देखाएको सक्रियता र जनसम्पर्क शैलीले राजनीतिक समीकरणमा नयाँ ऊर्जा थपिएको विश्लेषकहरू बताउँछन्। अब मतदाताले उनको एजेन्डालाई कत्तिको समर्थन गर्छन् भन्ने कुरा निर्वाचन परिणामले स्पष्ट पार्नेछ।