इटहरी । आगामि फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लाल बिक्रम थापा यतिबेला चुनावी अभियानलाई तीव्र बनाउँदै जनतासँग प्रत्यक्ष भेटघाटमा सक्रिय रहनुभएको छ ।
सोमबार उम्मेदवार थापाले इटहरी उपमहानगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम, टोलभेला तथा र्यालीमार्फत् मतदातासँग संवाद गर्दै थापाले विकास निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको बताउनुभएको छ । उहाँले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, कृषि आधुनिकीकरण, युवालाई रोजगारी सिर्जना तथा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्नुभएको छ । थापाले विशेषगरी ग्रामीण सडकको स्तरोन्नति, सिंचाइ सुविधा विस्तार, सीपमूलक तालिममार्फत् स्वरोजगार प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
साथै पारदर्शी र जवाफदेही नेतृत्वमार्फत् क्षेत्रको समग्र पूर्वाधार विकासलाई गति दिने उहाँको भनाइ छ । चुनावी र्यालीहरूमा युवाको उल्लेखनीय सहभागिता देखिएको छ । स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै थापाले अबको राजनीति काम र परिणाममुखी हुनुपर्छ भन्ने सन्देश दिइरहनुभएको छ । आगामि फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना हुने विश्वास व्यक्त गर्दै थापाले विकास र सुशासनका लागि रास्वपालाई समर्थन गर्न मतदातासँग अपिल गर्नुभएको छ । सोमबारबाट निर्वाचन आयोगले प्रचार प्रसार गर्ने सुचना जारी गरेसँगै चुनावि मैदानमा उत्रिएका उम्मेदवारहरू यतिखेर र्यालि , कोण सभा कार्यक्रम गरि गाउँ गाउँ घुम्न सुरू गरेका छन् ।


