इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ९ स्थित कोल्टारमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
माघ २९ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता आइतबार गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा समापन भएको हो । हसनपुर युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष तर्फ हसनपुर भलिबल टिम विजेता बनेको हो । आमचोक गाउँपालिका ८ हैखाराङ भलिबल टिम उपविजेता बनेको हो ।
त्यस्तै महिला तर्फ हतुवागढी ५ होम्ताङ महिला भलिबल टिम विजेता र धनकुटाको साँगुरी गढी गाउँपालिकाबाट सहभागी टाङ्केरा महिला भलिबल टिम उपविजेता बनेको हो । प्रतियोगितामा पुरुषतर्फ विजेता टिमलाई नगद ६१ हजार र उपविजेता टिमलाई ४१ हजार पुरस्कार राशी प्रदान गरिएको छ । महिला तर्फ विजेता टिमलाई ३१ हजार र उपविजेता टिमलाई २१ हजार नगद पुरस्कार राशी प्रदान गरिएको आयोजक समितिका सचिव मिलन राईले जानकारी दिनुभयो ।
प्रतियोगितामा सेमिफाइनल खेल्ने महिला र पुरुष दुवै टिमलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।


