इटहरी । पाँचथरको कुम्मायक गाउँपालिका–५ स्यावरुम्बामा स्थानीय नेतृत्व विकासको लागि ५ दिने तालिम सुरु भएको छ । 

स्थानीय तहमा प्रभावकारी नेतृत्व विकास गर्ने उद्देश्यसहित ५ दिने नेतृत्व विकास तालिम सञ्चालन गरिएको हो । तालिम पूर्वाञ्चल सिप विकास प्रशिक्षण केन्द्र को प्राविधिक सहयोग तथा गाउँपालिकाको आर्थिक सहकार्यमा आयोजना गरिएको हो । तालिमको सहजीकरण सञ्चारकर्मी एल.एन. गच्छदार ले गरिरहनुभएको छ । उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का ले नेतृत्व विकास आजको आवश्यकता भएको उल्लेख गर्दै परिवर्तनशील समाजमा जिम्मेवार, उत्तरदायी र दूरदर्शी नेतृत्व संस्कार निर्माणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

शिक्षा र नेतृत्वको अन्तरसम्बन्ध औंल्याउँदै गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप सिंह तमाङले प्रभावकारी नेतृत्वले स्थानीय विकासका योजनालाई व्यवहारमा उतार्न मद्दत पुग्ने धारणा राख्नुभयो । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष निर्मलराज घिमिरेले अध्यक्षता गर्दै समुदायस्तरमै नेतृत्व क्षमताको अभिवृद्धि हुनु दीगो विकासको आधार हुने विश्वास व्यक्त गर्नुभयो । तालिममा सकारात्मक सोच, क्षमता विकास, भाषणकला, व्यक्तित्व विकास तथा नेतृत्व सम्बन्धी विषयलाई मनोवैज्ञानिक अभ्यास, अन्तरक्रियात्मक खेल, अडियो–भिडियो सामग्री र समूहगत अभ्यासमार्फत मैत्रीपूर्ण वातावरणमा प्रस्तुत गरिदैछ ।

सहभागीहरूले सिकेका ज्ञान र सीप समुदायमा कार्यान्वयन गर्दा स्थानीय शासन प्रणाली थप प्रभावकारी बन्ने अपेक्षा गरिएको आयोजकको भनाइ रहेको छ । प्रशिक्षण केन्द्रका प्रमुख पुण्य प्रसाद भट्टराई का अनुसार तालिममा २५ जना महिला तथा पुरुषको सहभागिता रहेको छ भने कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुनेछ ।