इटहरी । काठमाडौँमा आयोजना हुने “नेपाल राइडर्स मिट २०२६” मा सहभागी हुन भुटानबाट आएका आठ जना राइडर्सलाइ इटहरीस्थित बिवाइडी सोरुममा भव्य स्वागत तथा सम्मान गरिएको छ। कोशी प्रदेशको केन्द्रबिन्दु इटहरीमा कार्यक्रम उत्साह, मित्रता र अन्तर्राष्ट्रिय सद्भावले भरिपूर्ण बनेको थियो।
कार्यक्रममा बिवाइडी सोरुम इटहरीका सञ्चालक रोशन कपुरीले भुटान र नेपालको सडक अवस्था, यात्राको अनुभव तथा विद्युतीय सवारी साधन बिवाइडी गाडी बजारीकरण, उपभोक्ताको सुझाव सम्बन्धी धारणा आदान–प्रदान गर्नुभयो। उहाँले नेपाल र भुटानबीच पर्यटन, यातायात र प्रविधिको क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको उल्लेख गर्दै यस्ता राइडर्स मिटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
कोशी प्रदेश नासा अध्यक्ष प्रकाश कपुरीले नेपाल राइडर्स मिट २०२६ मा सहभागी हुन नेपाल आउनुभएका भुटानी राइडर्सहरूलाई इटहरीबाट सम्मानपूर्वक स्वागत गर्दै काठमाडौँतर्फ बिदाइ गर्नुभयो। उहाँले खेलकुद र साहसिक यात्रामार्फत अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत हुने बताउँदै कोशी प्रदेश सधैं अतिथिहरूको स्वागतका लागि तयार रहेको धारणा राख्नुभयो।
भुटानका राइडर्स टोलीका प्रतिनिधि पाल्देन दोर्जेले नेपाल आगमनपछि नेपाली दाजुभाइ–दिदीबहिनीबाट प्राप्त आत्मीय माया, सत्कार र सम्मानप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले नेपाल भ्रमण र राइडर्स मिटमा सहभागिताप्रति अत्यन्त उत्साहित रहेको बताउँदै भविष्यमा थप सहकार्य र मित्रता विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो। भुटान–नेपाल राइडर्स बिच बढ्दै गएको सम्बन्धले साहसिक पर्यटन, सांस्कृतिक आदान–प्रदान र विद्युतीय सवारी प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको नासा नेपाल कोशी प्रदेशका सल्लाहकार कबिन श्रेष्ठले बताउनुभयो।
कार्यक्रममा नासा नेपाल कोशी प्रदेशका सल्लाहकार कविन श्रेष्ठ, कोषाध्यक्ष विकल पौडेल लगायतका पदाधिकारी तथा राइडर्स हरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्वागत , खादा तथा मायाको चिनो प्रदानसँगै कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। इटहरीबाट बिदा भएका भुटानी राइडर्सहरू काठमाडौँमा हुने मुख्य कार्यक्रमप्रति उत्साहका साथ प्रस्थान गरेका छन्।


